महिला र पुरुष एउटै रथका दुई पाङ्ग्रा

डा. डीआर उपाध्याय

अझै पनि महिलाहरु आर्थिक, सामाजिक, साँस्कृतिक तथा राजनीतिक रूपले विभेदमा छन् । शारीरिक र यौनिक हिंसाका शिकार भैरहेका छन् । आजको २१ औँ शताब्दीमा पनि महिलाहरु विभेदमा पर्नु दुखद् पक्ष हो । आधाभन्दा बढी जनसङ्ख्याको प्रतिनिधित्व महिलाले गरेका छन् । त्यसमाथि पनि महिला लैङ्गिक विभेद एवं हिंसाको सिकार बनेका छन् । अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको दिवस मनाउँदै गर्दा पनि महिला माथि हुने हिंसा अझै रोकिएको छैन । भनिन्छ, महिला र पुरुष एउटै रथका दुई पाङ्ग्रा हुन् । यो उक्ति अझै व्यवहारमा कार्यान्वयन हुन सकेको छैन । महिलाहरु शारीरिक, मानसिक तथा मनोवैज्ञानिक रूपमा कमजोर छैनन् । तर पनि बिभेद गरिएको छ । जहाँ नारी जातिको सम्मान हुन्छ, त्यहाँ भगवान पनि खुसी हुन्छन् । यो उक्तिलाई सबैले मनन् गर्न जरुरी छ ।

संविधान र कानुनमा हिंसाविरुद्ध भएका प्रावधानलाई कार्यान्वयन गर्दै पीडितलाई न्याय र पीडकलाई दण्ड सजाय दिई दण्डहीनताको अन्त्य गरिनु पर्दछ । महिला हिंसाविरुद्ध व्यापक जनचेतना जगाउनु पर्छ । महिला हिंसा अन्त्य गर्नु पर्छ । त्यसका लागि कानुनको कार्यान्वयन आजको आवश्यकता हो । महिला विरुद्धको हिंसा लैङ्गिक असमानताको उपज हो । नेपाली समाज अझै पनि रुढीवादी, कुसंस्कारले जगडिएको छ । महिलाप्रति हेरिने दृष्टिकोण र गरिने व्यवहारमा अझै उदारता आउन सकेको छैन । तर आजको युगमा पनि बलात्कार, बोक्सी प्रथा, दाइजो प्रथा, चेलिबेटी बेचबिखन, छाउपाडी प्रथा, बाल विवाह, बहुविवाह आदि कुसंस्कार कायमै छ । यी सबै महिलामाथि हुने हिंसा हुन् । महिला अझै आफ्नै घर परिवारबाट घरेलु हिंसाका शिकार भइरहेका समाचार आउँछन् ।

नेपालमा दैनिक ७ महिलामाथि बलात्कार भएको तथ्याङ्कले देखाएको छ । प्रहरीका अनुसारका बलात्कार र बलात्कार प्रयास सम्बन्धी घटना ८२ प्रतिशतभन्दा बढी हुने गरेको छ । नेपालको संविधानले महिलालाई राज्यको हरेक निकायमा ३३ प्रतिशत प्रतिनिधित्वको सुनिश्चिता गरेको छ । महिलाहरुको योग्यता, क्षमता र  दक्षताको अझै मूल्याङ्कन भएको छैन । नेपालको संविधानले राज्यको हरेक निकायमा महिलाको समानुपातिक, समावेशी, प्रतिनिधित्वको व्यवस्था गरेको छ । तर त्यस अनुसार महिलाहरुको प्रतिनिधित्व हुन नसकेको महिलाहरुको गुनासो छ ।