शताब्दी पुरुष जोशीद्वारा तीन कृतिको लोकार्पण


शताब्दी वाङ्मय पुरुष डा. सत्यमोहन जोशीले साहित्यकार डी. आर. द्वारा लिखित यात्रासंस्मरण “सेन्टोसा”, “पेशागत अनुभव एवम् अनुभूति”को सङ्ग्रह समयको “डोब” र गीति एल्बम “भूइँचम्पा”को शनिबार एक विशेष कार्यक्रमबीच लोकार्पण गर्नुभयो । शङ्कर लामिछाने प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रम शताब्दी वाङ्मय पुरुषकै मंगलबजार, ललितपुरस्थित निवासमा भएको थियो । सो अवसरमा प्रमुख अतिथि जोशीले नेपाली साहित्यलाई अनुवादका माध्यमबाट विदेशमा पुर्याउनुपर्ने आवश्यकतामाथि जोड दिँदै त्यसो भएमा मात्र नेपाली साहित्यका माध्यमबाट हामीले देशको पहिचानलाई विश्वव्यापी गर्नसक्छौँ भन्नुभयो । यात्रालेखन अत्यन्त उत्तरदायीपूर्ण लेखन भएको उहाँको धारणा थियो । उहाँले कोरोनाका कारण अन्य गतिविधिजस्तै नेपाली साहित्यिक गतिविधिहरू केही समय रोकिए पनि फेरि चहलपहल बढेकोमा खुशी व्यक्त गर्नुभयो ।

प्रमुख वक्ता समालोचक प्रमोद प्रधानले साहित्यकार डी. आर. का कृतिहरूको समीक्षा गर्दै अघिल्लो यात्रानिबन्धकृति कान्तिपुरदेखि सन्दकपुरसम्मभन्दा सेन्टोसा विषयवस्तुको चयन, त्यसको प्रस्तुति र भाषा सबै दृष्टिकोणबाट महत्वपूर्ण भएको र समयको डोबले फोटोग्राफी पेशामा संलग्न हुँदाका सङ्घर्षलाई अभिलेखन गरेको बताउनुभयो । सभापतिको आसनबाट शङ्कर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीले प्रतिष्ठानले अहिले नेपाली निबन्ध र यात्रालाई अङ्गे्रजीमा अनुवाद गर्ने कामलाई अघि बढाएको बताउनुभयो । उहाँले लामिछानेको एब्स्ट्रयाक्ट चिन्तन प्याजको अंग्रेजी अनुवाद प्रकाशनको क्रममा रहेको र नेपाली नियात्राको प्रतिनिधिमूलक अंग्रेजी अनुवादको काम अघि बढेको जानकारी पनि दिनुभयो ।

कार्यक्रममा वरिष्ठ कथाकार किशोर पहाडी, प्रसिद्ध निबन्धकार युवराज नयाँघरे, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका वरिष्ठ उपाध्यक्ष साहित्यकार बाबा बस्नेत, सङ्गीतकार तथा संचारकर्मी सरोज कोइराला, पुष्पा खनाल र प्रकाशक बीएन पुस्तक संसारका सूर्य बीसीले पनि लोकार्पित कृति र कृतिकारबारे आ–आफ्ना धारणा राख्नुभएको थियो भने स्रष्टा डी. आर. ले सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

स्रष्टा डीं. आर. को सेन्टोसा दोस्रो यात्रानिबन्धकृति हो । समयको डोबमा भने उनको फोटोग्राफी यात्राको कथासँगै विभिन्न व्यक्तिहरूको विचारहरू समेटिएका छन् । छैटौँ गीति एल्बम भूइँचम्पामा विभिन्न सङ्गीतकारको सङ्गीतमा विभिन्न गायकगायिकाले गाएका सात ओटा गीत छन् । गीतहरूमा सङ्गीतकारहरू सन्तोष श्रेष्ठ, मनराजा नकर्मी, ज्योतिप्रकाश, महेश खड्का, कुवेर राई र सरोज कोइरालाको सङ्गीत रहेको छ भने सञ्जीवनी, संगीता प्रधान, उदय सोताङ र मनिला सोताङ, अन्जु पन्त र यम बराल, कुवेर राई, आनन्द कार्की र मेलिना राईले स्वर दिनुभएको छ । कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशीको विशेष सम्मान पनि गरिएको थियो । यसैगरी प्रमुख वक्ता प्रमोद प्रधान र सर्जक राईलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा साहित्यकारहरु मन्जिला शर्मा, अनिल शर्मा, कमला रिसाल, प्राज्ञ ज्योति प्रकाश, पत्रकार तुलसी गिरी  ‘भावुक’ लगायतको उपस्थिति रहेको थियो ।

SUBSCRIBE 👉