‘चिलगाडी’ को घोषणा,०७८ को दशैंमा प्रदर्शन गर्ने लक्ष्य


कोरोना भाइरसका कारण सात महिनादेखि नेपालमा चलचित्र निर्माणदेखि प्रदर्शनसम्म ठप्प छ । निषेधाज्ञा खुकुलो गर्दै सरकारले बिभिन्न क्षेत्रलाई सञ्चालनको अनुमति दिएपनि चलचित्र क्षेत्रमा लगाइएको प्रतिबन्ध हटेको छैन । तर, निर्माता तथा निर्देशकहरु सरकारले छायाङ्कन अनुमति दिने आशमा धमाधम सामाजिक सञ्जालको माध्यमबाट नयाँ चलचित्रको घोषणा गरिरहेका छन् ।

यसैबीच सञ्चारकर्मी रघुनाथ सापकोटाले निर्माण गर्ने चलचित्रको पनि आज फूलपातीको शुभदिन पारेर औपचारिक घोषणा गरिएको छ । सेलिब्रेटी नेपालको ब्यानरमा बन्ने चलचित्रको नाम ‘चिलगाडी’ राखिएको छ । चलचित्रको लागि केही हप्ता अघि मुख्य अभिनेतामा नाजिर हुसेनलाई अनुबन्ध गरिएको थियो । नाजिरको अपोजिट नायिकाको लागि रोल सुहाउने अभिनेत्रीको खोजीकार्य भईरहेको कुरा निर्माण टिमले जानकारी गराएको छ ।

सामाजिक विषयवस्तुमा आधारित भएर निर्माण हुने ‘चिलगाडी’ ले युवा पुस्ताको प्रतिनिधित्व गर्दै विशेष सन्देश समेत बोक्ने थाहा भएको छ । चलचित्रले नेपाली समाजको कहालीलाग्दो यथार्थलाई प्रस्तुत गर्नेछ । चलचित्रको पटकथा तथा संवाद यम थापाले लेखेका हुन् । निर्देशक समाजका महासचिव समेत रहेका निर्देशक जनकदिप पराजुलीले चलचित्रको निर्देशन गर्नेछन् । सागर प्रधानले छायाङ्कन गर्ने यस चलचित्रका अन्य कलाकार तथा प्राविधिकहरु फाईनल हुन बाँकी रहेको जानकारी प्राप्त भएको छ। फागुनमा फ्लोरमा जाने तयारीमा रहेको यो चलचित्र २०७८ सालको दशैंमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।

SUBSCRIBE 👉