सर्वसाधारणले अक्सिजन सहितको बेड पाउनै मुस्किल

डा. डीआर उपाध्याय


पछिल्लो समय अस्पतालमा भर्ना नपाएर कोरोना संक्रमितले ज्यान गुमाउनुपर्ने अवस्था आएको छ । यसको प्रमुख कारण भनेको समयमा सरकारी तयारी नपुगेर हो । कोरोना संक्रमणको दर फैलिएसँगै सरकार त्यस अनुसार अघि बढनु पर्दथ्यो, तर त्यसो हुन सकेन । यो नै ठूलो गल्ति हो । सरकारले स्वास्थ्य संरचनाहरू (अस्पतालमा शैया, उपकरण, जनशक्ति लगायत) विस्तार गर्न नसक्दा समस्या देखिएको हो । कोभिड अस्पतालमा मात्रै भर पर्दा अहिले संक्रमित धेरै समस्यामा परेका छन् । कोभिड अस्पतालका संरचना खासै विस्तार भएका छैनन् । यो दुर्भाग्यपूर्ण अवस्था हो । पछिल्लो समय अस्पतालले अक्सिजन सहितको बेड उपलब्ध गराउन सकेका छैनन् । अक्सिजनको अभावले कतिपय संक्रमितलाई बचाउन सकिएको छैन । त्यस्ता संरचनाको अभावमा सर्वसाधारणले अकालमै ज्यान गुमाइरहेका छन् ।

अस्पतालमा भेन्टिलेटर, आइसियु बेड, अक्सिजन सहितको बेड जस्ता सुविधा उपलब्ध हुन जरुरी छ । अहिले त बिरामीले सामान्य बेडसमेत पाउन सकेका छैनन् । यो नै समस्या हो । कोभिड अस्पतालका रूपमा विस्तार गरिएका अस्पतालहरूको त यस्तो छ अवस्था । काठमाडौँ बाहिरका कोभिड अस्पतालहरूमा आवश्यक उपकरण, साधनस्रोत र दक्ष जनशक्तिको अभाव छ । अहिले कतिपय संक्रमित होम आइसोलेसनमा बसेका छन् । यस्तो अवस्थामा पनि सरकार किन मुकदर्शक मात्रै बनिरहेको छ ?

कोरोना भाईरस भयाबह बन्दै गएको छ । काठमाडौँमा नै बिरामीले सहज रुपमा उपचार पाउने अवस्था छैन । उपत्यकाबाहिरको अवस्था के होला ? काठमाडौँमा संक्रमितको दर ह्वात्तै बढेको छ । सरकारले थप संरचनाहरू विस्तार गर्नुपर्ने आवश्यकता तत्काल देखिएको छ । यतिखेर म पनि होम आइसोलेसनमा बसेको छु । मेरो अवस्था सामान्य छ । लेख्ने , पढ्ने गरेरै दिन बिताएको छु ।