कोरोना सङ्क्रमणबाट बच्ने र बचाउने उपाय

डा. डीआर उपाध्याय


कोभिड-१९ ले मुलुकको अवस्था झन्झन् डरलाग्दो बन्दै गइरहेको छ । सङ्क्रमितको दर तीव्र गतिमा उकालिँदै छ । यो कोरोना भाइरस महिनौको लकडाउन र निषेधाज्ञाका बाबजुद पनि नियन्त्रणमा आउन सकेन । परीक्षणमा वृद्धि, राम्रो कन्ट्याक्ट ट्रेसिङ, गहिरो केस इन्भेस्टिगेसन, जनस्वास्थ्य मापदण्डको पालना लगायत प्रक्रिया दुईसाता कडाईका साथ पालना गरे सङ्क्रमणको दरमा कमी आउने जनस्वास्थ्य बिज्ञले बताईरहेका छन् । सबै अस्पताललाई कोरोना अस्पतालमा परिणतको निर्णयपछि अन्य बिरामीको व्यवस्थापन झन् कठिन बनेको छ । यो बिषयमा सरकारले बिचार गर्नुपर्ने आवश्यकता देखिएको छ । उपत्यकामा सङ्क्रमण दर निरन्तर बढिरहेको छ । यो डरलाग्दो सङ्केत हो । आफनो सुरक्षा आफै गरौं । अनावश्यक भिडभाड नगरौं । दशैंको टिका नजिकै आएको छ । टिका लगाउन धेरै भिडभाड नगरौं । आफनै घरमा बसेर टिका लगाऔं । बाहिर हिंडडुल नगरौं । कोरोना भाईरससँग छलिदै आफनो काममा लागौं । काठमाडौं उपत्यकामा सङ्क्रमणको अवस्था भयावह उन्मुख छ, नियन्त्रणबाहिर जाने सङ्केत देखापरिरहेको छ ।

काठमाडौं उपत्यकाबाट दशैंको लागि आफनो घर जानेहरुले पनि आफैं सावधानी अपनाएर यात्रा तय गर्नुहोला भन्ने मेरो सुझाव छ । अहिले बाँचे दशैं फेरि अर्कोबर्ष पनि मनाउन सकिन्छ । सबैभन्दा ठूलो कुरा आफनो स्वास्थ्य हो । सबैले सबैभन्दा पहिला आफनो स्वास्थ्यलाई ख्याल गर्नुहोस् । तपाई हामीले आफनो स्वास्थ्यलाई ख्याल गर्न सक्यौं भने र हेलच्याक्राई गरेनौं भने हामीसँग कोरोना कहिले आउने छैन । पटकपटक सावुन पानीले हात धुने, सुरक्षित शौचालय जाने, पानी उमालेर मात्र पिउने, मास्क लगाएर काममा बाहिर निस्कने, अनावश्यक घरबाहिर ननिस्कने, आफन्तसँग भेटघाट र सम्पर्क नगर्ने, यदि गर्नैपरे फोन वा सामाजिक सञ्जालमार्फत गर्ने । खोक्दा, हाच्छिउँ गर्दा कुहिनाको भित्री भागले वा टिस्यु पेपरले नाक, मुख छोप्ने, तुरुन्त पेपरलाई बिर्कोसहितको फोहर फ्याक्ने टोकरीमा फाल्ने र त्यसपछि नाक, मुख सफा गर्ने बानीको महत्वबारे सबैलाई बुझाई व्यवहारमा उतार्न लगाउनुपर्छ । भेटघाट गर्नुपर्ने भए न्यूनतम दुई मिटरको दूरी, दुबैले उचित मास्क लगाउने, आमनेसामने नहुने र बढीमा १५ मिनेटसम्म छोटो कुराकानी गर्ने, शल्यक्रिया गरेका, ज्येष्ठ नागरिक, मधुमेह, श्वासप्रश्वासका बिरामीसँग नजिक नहुने, यी नियम पालना गर्न सकियो भने कोरोना सङ्क्रमणबाट बच्न र अरुलाई पनि बचाउन सकिन्छ ।

SUBSCRIBE 👉