शीर्ष नेताबीच फेरि विवाद, प्रमले मनोमानी गरेको आरोप

डा. डीआर उपाध्याय


प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिमण्डल त पुनर्गठन गर्नुभयो । तर पार्टीभित्र मन्त्रिमण्डल पुनर्गठनको बिषयलाईृ लिएर शीर्ष नेताबीच फेरि विवाद सुरु भएको छ । यो बिवाद कति लामो समयसम्म जाने हो त्यो भने भन्न सकिदैन । सत्तारुढ दल नेकपामा बेला बेलामा बिवाद भइरहन्छ र लेनदेनको कुरा मिलेपछि बिवाद साम्य हुन्छ । नेकपाले सत्ता चलाएको साँढे  दुई बर्षको अवधीमा पार्टीभित्रको विवाद बाहेक अरु केही प्रगति देखिएन । सत्ता सम्हालेको साँढे दुईवर्ष अवधि प्रायः झगडामै बित्यो । नेपाली जनता त वाक्क दिक्क पो हुन थाले । नेता सधैं कुर्सीका लागि मात्र लड्ने जनताले सास्ती मात्र भोग्ने, यसरी देश उँभो लाग्दैन ।

दूरदर्शी युवा नेताको अभावमा देश अल्मलिएको छ । देशले कुनै निकास पाउन सकेको छैन । जनता भोका छन् । बेरोजगार छन् । रोजीरोटी खोसिएको अवस्था छ । गरिव निमुखा जनताको अवस्था त झन् दयनीय छ । सरकारी सेवा-सुविधा, तलव, भत्ता पाउँने  बाहेकको समस्या जटिल छ । नजिकिंदै गरेको दशैको रौनक यिनै सरकारी सेवा-सुविधा, तलव, भत्ता खानेलाई मात्र छ । अरु सबै नेपाली जनताको मुहार उदास छ । कोही खुशी हुन सकेका छैनन् । कोरोना माहामारीका कारण उत्पन्न समस्यासँग जुध्नुको विकल्प बाहेक अब हामीसँग अरु केही छैन । जनता यस्तो जटिल अवस्थाबाट गुज्रिरहेका छन्  । जनता सेवा र सुविधा चाहिरहेका छन् । अब त दुई तिहाइ र एकमनाको सरकार भन्न पनि जनताले लाज मान्न थालिसकेका छन् । जनता अन्तहीन विवादभन्दा पनि काम केही होस् भन्ने चाहन्छन् ।

नेकपाभित्र मन्त्रिपरिषद् विस्तार र कर्णाली प्रदेशका मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव विवादका मुख्य कारण हुन् । हालको क्याबिनेटमा प्रधानमन्त्री ओली निकट व्यक्तिहरूकै वर्चस्व छ । मन्त्रिमण्डल पुनर्गठनका बिषयमा पार्टीका वरिष्ठ नेताहरूलाई चित्त बुझेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठनमा एकलौटी गरेको वरिष्ठ नेताहरूको आरोप छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् विस्तार गर्दा आफ्नै समूहका नेतामात्र समावेश गर्नुभएको छ । त्यसअघि राजदूत नियुक्तिमा पनि उहाँले युवराज खतिवडा र लोकदर्शन रेग्मीलाई सिफारिस गरेर पार्टीभित्र विवाद निम्त्याउनुभएको थियो । मन्त्रिमण्डलले पूर्णता पाए पनि सरकार सामु फेरि चुनौति थपिएका छन् । पाटीभित्रको विवाद नमिलेसम्म पटक पटक समस्या आइनै रहन्छ । यही अवस्था रहने हो भने पार्टी भित्रैबाट काम गर्नका लागि सरकारलाई छेकबार हुने देखिन्छ । मन्त्रिमण्डलमा रहेका केही मन्त्रीहरूमा कार्यक्षमताको प्रश्न उठाइएको छ । यसले गर्दा पछिसम्म विवाद उठने देखिन्छ ।

SUBSCRIBE 👉