दिगो शान्ति, सुशासन, विकास र समृद्धि नै आजको आवश्यकता

डा. डीआर उपाध्याय


गत आम निर्वाचनमा वाम गठबन्धनलाई जनताले करिब दुईतिहाइको बहुमत दिए । यस अवधिमा विगतमा भएका गल्तीको समीक्षा गरेर नेकपा अघि बढनु पर्ने जरुरी देखिएको छ । सैद्धान्तिक बाटोमा नेकपा कता कता अलमलिएको जस्तो देखिएको छ । प्रष्ट सैद्धान्तिक बाटो छोपेर नेकपा अघि बढनु पर्छ । अब देशलाई युवा नेतृत्वको खाँचो छ । नेपालमा सच्चा कम्युनिष्टको खडेरी लागेको आम जनताको गुनासो छ । यो देशको व्यवस्थासँगै जनताको अवस्था फेरिएको छैन । राजनीति भनेको समाज सेवा हो । राजनीतिका नाममा ब्यापार भएको छ । राजनीतिले जनतालाई के दियो ? भन्ने महत्वपूर्ण कुरा हो । तर नेपालमा त्यो देखिएन। मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको यात्रामा छ । नेपालको संविधानले परिकल्पना गरेको दिगो शान्ति, सुशासन, विकास र समृद्धि नै आजको आबश्यकता हो । तर नेपाल यतिबेला संकटको अवस्थामा गुज्रिएको छ । वर्तमान राजनीतिक नेतृत्वले गति दिन सकेको छैन । जनता अन्योलमा परेका छन् । राजनीति दल र तिनका नेताहरू प्रष्ट हुन जरुरी छ । त्यसो भयो भने मात्र मुलुक अघि बढछ ।

जनताले गाँस कटाएर सरकार र राज्यका बिभिन्न निकायलाई सेवा, सुविधा दिएका छन् । सुविधा लिनेहरुले यो नागरिकले तिरेको कर हो भनेर बुझनुपर्छ । राजनीतिकर्मी र कर्मचारीले पाउने सेवा, सुविधामा जनताको पसिना छ । जनताको श्रममा पग्लिएको पसिनाको हिस्सा हो । यो कुरालाई आत्मसात गर्न जरुरी छ । राज्य सञ्चालकहरु नैतिक र संवेदनशील हुनु पर्छ । जनताबाट सेवा, सुविधा ग्रहण गर्ने अनि जनताको समस्या नबुझने ? यसरी हुँदैन । राजनीतिक दलहरुले आफूले बोलेका कुरा व्यवहारमा कार्यान्वयन गर्न जरुरी छ । जनताको मतबाट शक्ति आर्जन गर्नेहरुले अब बुझन जरुरी छ । सरकारी बेथितिले समाजका सबै अंग बिथोलिएका छन् । डरलाग्दो कुसंस्कार प्रवाहित हुँदैछ । सामाजिक विकृति बढ्दो छ । देशमा प्रतिदिन हत्या, हिंसा, बलात्कारका घटनाहरु घटिरहेका छन् । यस्ता विकृति निरुत्साहित हुनु पर्छ । यतिबेला देशको आर्थिक उपार्जन क्षतविक्षत छ । राजस्व घट्दो छ । ऋण बढ्दो छ । सरकारी निकायको स्रोतले पुष्टि गरेको कुरा हो यो । खर्च धान्न पनि सरकारलाई ऋणको जोहो गर्नु पर्ने अवस्था सिर्जना भएको छ । तैपनि आर्थिक दोहन रोकीएको छैन ।