लक्ष्य ठूलो पर्दाको

तुलसी गिरी ‘भावुक’


राजधानीमा बसेर भिडियो मोडलिङ्, र्याम्प मोडलिङ् र अभिनयमा सङ्घर्ष गरिरहेकी एक प्रतिभा हुन् सिम्रन कार्की l पूर्वी नेपालको सुन्दर शहर इटहरी स्थायी बसोबास भएकी सिम्रन बाल उमेरदेखि नै नृत्यप्रति गहिरो अभिरुची राख्थिन् l स्कूल पढ़दैदेखि स्थानीय क्षेत्रमा आयोजना हुने कार्यक्रमहरुमा नृत्यमा सहभागी हुने गरेकी सिम्रन आफ्नो स्कूलका कार्यक्रमहरुमा समेत नाच्ने गर्दथिन् l मेहेनती र बलियो आत्मविश्वास भएकी उनले काठमाण्डौ प्रवेश गर्नुपूर्व नै गृह नगरको एक इन्स्टिच्युटमा करिव ४ बर्ष नृत्य सिके पश्चात प्रशिक्षक भएर केहीबर्ष आफ्नै डान्स सेन्टर समेत चलाएकी थिईन् l ‘इटहरीमै छँदा एउटा कभरगीतको भिडियोमा मोडलिङ् गरेकी थिएँ l मिस कोशीमा पनि भाग लिएँ l ठूलो उपाधी नजिते पनि केही टाइटलहरु पाएँ’ सिम्रन भन्छिन् l

फोटो: तस्बीर स्टुडियो, बागबजार

पिता तीर्थ बहादुर कार्की र माता टिकामाया कार्कीको परिवारमा पहिलो सन्तानको रुपमा जन्म लिएकी सिम्रन एक भाइ र एक बहिनीकी दिदी पनि हुन् l एसएलसी पछि उच्च शिक्षा अध्ययनका साथै कला क्षेत्रमा पनि केही गर्ने उद्देश्यका साथ करिव पाँचबर्ष अघि राजधानी प्रवेश गरेकी सिम्रनले काठमाण्डौ आउनेबित्तिकै मोहनविक्रम पाण्डेको स्वरमा रहेको गीत ‘बोली फेरिदैन’ को भिडियोमा मोडलिङ् गर्ने अवसर पाएकी थिईन् l जसको निर्देशन ज्ञानेन्द्र शर्माले गरेका थिए l ‘पढाइले गर्दा मैले पूरै समय भिडियो मोडलिङ्लाई दिन सकिन l अहिलेसम्म करिव एक दर्जन भिडियो मोडलिङ् गरें भने केही र्याम्प मोडलिङ्मा पनि भाग लिएँ’ समाजशास्त्रमा स्नातक तह अध्ययन गरिरहेकी सिम्रन भन्छिन् l यही बीचमा प्याथोलोजीको स्पेशल तालिम लिएर केहीबर्ष उनले ल्याव टेक्निसियनको रुपमा समेत काम गरेकी थिईन् l

फोटो: तस्बीर स्टुडियो, बागबजार

नृत्य गर्नकै लागि व्यावसायिक कलाकारको रुपमा सिम्रन एकपटक अन्तर्राष्ट्रिय मुलुक कतार पुगेकी छिन् भने नेपाल टेलिभिजनको आयोजनामा पश्चिम नेपालको कोहलपुरमा सम्पन्न कार्यक्रममा पनि उनको यादगार उपस्थिति रहेको थियो l  ठूलो पर्दाको एक चलचित्रमा दुई नायिका मध्येकी एक नायिकाको रुपमा अभिनय गरेकी सिम्रनलाई, ‘हाक्काकाक्की’ टेलि सिरियल र ‘स्कूल टु कलेज’ नामक सिरियलमा पनि देख्न सकिन्छ l उनले केही बिज्ञापन मोडलको रुपमा समेत काम गरेकी छिन् l सिम्रन यतिबेला काठमाण्डौको नयाँ बानेश्वरस्थित एक इन्स्टिच्युटमा करिव ३ बर्ष अघिदेखि राहुल साहसँग हिपहप डान्स सिकिरहेकी छिन् l  ‘अरु किसिमको त मलाई सबै राम्रोसँग आउँछ हिपहप फरक शैलीको भएकोले सिक्न मन लाग्यो’ उनले आफ्नो रुचीबारे स्पष्ट पारिन् l म्युजिक भिडियो तथा र्याम्प मोडलिङ्, टेलि तथा ठूलो पर्दाको अभिनयका साथै स्टेज नृत्यमा समेत सक्रीय रहँदै आएकी सिम्रन आफ्नो मूल लक्ष्य र उद्देश्य चाहिं ठूलो पर्दा नै भएको बताउँछिन् l   

SUBSCRIBE 👉