पनौती नपाको परिचयात्मक गीतमा हरिवंश, नम्रता र श्वेता


पछिल्ला दिनहरुमा बिभिन्न स्थानीय तहहरुले आ–आफ्नो गाउँ–ठाउँ, रहनसहन, प्राकृतिक सुन्दरता, संस्कृति, ऐतिहासिक महत्व, पौराणिक महत्व, कलाकौशल, विकासका गतिविधि आदि विषयहरुलाई गीति श्रव्य–दृष्य माध्यमबाट चिनाउने प्रचलन बढ्दै गएको छ । यसै सिलसिलामा राजधानी नजिकैको अति रमणीय `पनौती´ नगरपालिकाले पनि त्यस्तै विविधतागत विषयवस्तु बोकेको गीति भिडियो यही असोज २५ गते एक कार्यक्रमकाबीच नगरपालिकाकै यु्ट्यूव च्यानल मार्फत सार्वजनिक गरेको छ ।

वरिष्ठ कलाकार हरिबंश आचार्य, अभिनेत्रीद्वय श्वेता खड्का र नम्रता सापकोटाका साथमा रविन्द्र खड्का, सङ्गम भण्डारी, नारायण प्रधान, मुकुन्द थापा, रामेश्वर जङ्ग केसी, लक्ष्मण माटन्छी लगायतका कलाकारहरुको अभिनय रहेको यस भिडियोमा रमेश बाबा नेपालले निर्देशन, अजय रेग्मीले छायाङ्कन,  निशान घिमिरेले सम्पादन र महेन्द्र सुवेदीले भाषानुवादको भूमिका निर्वाह गरेका छन् भने प्रस्तुति व्यवस्थापन सभ्य सिर्जना प्रा.लि. को रहेको छ । गीतकार प्रकाश सुवेदीको गहन अध्ययन, अनुसन्धान र परिकल्पनामा नगरपालिकाभित्रका १२ वटै वडाहरुमा रहेका विविधतालाई ८ मिनेट भित्र समेटेर लेखिएको गीतमा वरिष्ठ सङ्गीतकार सुरेश अधिकारीको सङ्गीत, महाराज थापाको सङ्गीत संयोजन र सिडी विजय अधिकारी तथा मिलन नेवारको स्वर रहेको छ।

नगरप्रमुख भिम न्यौपाने, उपप्रमुख गीता बञ्जरा र प्रमुख प्रसाशकीय अधिकृत हरिप्रसाद चापागाईँ समेत संलग्न रहेको यस गीति भिडियोमा अधिकांश जनप्रतिनिधि, कर्मचारी, स्थानीय सामाजिक अभियन्ता, संस्कृतिविद्, साहित्यकार, स्थानीय वाद्यवादक र साँस्कृतिक टोलीलाई समेत समेटिएको छ ।