कवि केसीको भोगाई र अनुभूतिहरूको सङ्ग्रह ‘राजीनामा’



कवि तथा गीतकार विसु कुमार के.सी. को राजीनामा कवितासङ्ग्रह प्रकाशित भएको छ । यही असोज १९ गते अनौपचारिक रूपमा सार्वजनिक भएको यस कवितासङ्ग्रहमा के.सी. का ५० वटा कविता सङ्ग्रहित छन् । पुस्तकमा पञ्चायतकालको उत्तरार्धतिर (०४० देखि ०४६ सम्म ) लेखिएका बिभिन्न भावका कविताहरू समेटिएका छन् । ३० वर्षअघि लेखिएका यी कविताले सोही बेलाका  सामाजिक, राजनैतिक, आर्थिक आदि आयामहरूलाई सम्बोधन गरेका छन् ।

कवि के.सी.ले आफ्नो कविता सङ्ग्रहको बारेमा सङ्ग्रहमा बकपत्र भनेर लेखेका छन्- आखिर त्यो बेलाको देश, समाज र संसारको अवस्था, स्थिति र परिस्थितिले ममा उमारेका भाव नै पोखिएका त हुन् कविताहरूमा । देश र समाज अनि राजनैतिक, आर्थिक एवम् सामाजिक परिस्थिति मात्र हैन त्यसलाई ग्रहण गर्ने र अभिव्यक्त गर्ने मेरो उमेर र अवस्थाको पनि मिश्रण छ यसमा

नेपाल सरकारको उच्च पदस्थ कर्मचारी भएर सेवानिवृत्त भएका केसी निरन्तर लेखिरहने कवि हुन् । नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयका पूर्व रजिष्ट्रार केसीको सो कार्यकाल पनि सङ्गीत क्षेत्रमा स्मरणीय बनेर रहेको छ । उनी नेपालमै प्रतिलिपि अधिकार विज्ञको रुपमा समेत चिनिन्छन् । राजीनामा कविता सङ्ग्रहमा  तत्कालीन अवस्थामा बिभिन्न प्रतियोगिताहरुमा पुरस्कृत भएका कविताहरु पनि समेटिएका छन् । सङ्ग्रहमा सङ्ग्रहित पहिलो दुर्घटना शीर्षकको कवितादेखि हो दाइ समय मरिसक्यो शीर्षकको अन्तिम सम्मका कविताहरूमा कविका कल्पनाभन्दा पनि उनका भोगाइ र बुझाइ समेटिएको अनुभव गर्न सकिन्छ । राजीनामा कविता सङ्ग्रहका कविताहरूमा सरल एवम् मिठासपूर्ण विम्व, प्रतीक एवम् अलङ्कार भेट्न सकिन्छ । जसले पाठकलाई कविताको भावभूमि एवम् कल्पनाशीलता बुझ्न सहज बनाउने छ । साहित्यका विविध विधामा कलम चलाउँदै आएका कवि केसीद्वारा रचित केही गीतका अडियो तथा भिडियोहरु समेत प्रकाशन भईसकेका छन् ।

कवि केसीको प्रथम कृतिका रूपमा आएको यस कविता सङ्ग्रहलाई युनिक एजुकेशन पब्लिसर्स प्रालि ले बजारमा ल्याएको हो ।