अभिनेत्री श्वेता याम थापाको चलचित्रमा अनुबन्धित

रघु सापकोटा


कहाँ भेटिएला बाट नेपाली चलचित्रमा प्रवेश गरेकी अभिनेत्री श्वेता खड्काले लामो समयको अन्तरालमा नयाँ चलचित्रमा काम गर्ने भएकी छिन् । उनी अभिनित पछिल्लो चलचित्र कान्छी दुई वर्षअघि प्रदर्शनमा आएको थियो । केही समय यता आफ्नो व्यापार व्यवसायमा व्यस्त रहँदै आएकी उनी याम थापाको लेखन तथा निर्देशनमा बन्न लागेको नयाँ चलचित्रमा अनुबन्ध भएकी छिन् । थापाले यसअघि हुर्रे, मेरी मामुराज्जा रानी को निर्देशन गरेका छन् ।

प्राप्त जानकारी अनुसार यस चलचित्रमा श्वेता आमाको भूमिकामा देखिने छिन् । चलचित्र आमा र छोरीको भावनात्मक सम्बन्धको कथामा आधारित रहेको बताईएको छ । कोरोना महामारी र लक डाउनको  अवस्था सहज हुने बित्तिकै चलचित्रको छायाङ्कन सुरु हुने कुरा थाहा भएको छ । छोरीको भूमिकामा बाल कलाकार सेड्रिना शर्मालाई अफर गर्ने योजना रहेपनि शर्मा अहिले जन्मथलो झापामा भएका कारण कुरा अगाडि बढ्न नपाएको चलचित्रका लेखक तथा निर्देशक याम थापाले बताए । डेब्यू चलचित्र कहाँ भेटिएला देखि लभर गर्ल को भूमिकामा देखिँदै आएकी श्वेतालाई पहिलोपटक दर्शकले भिन्न भूमिकामा देख्न पाउने छन् । उनी यो चलचित्रलाई लिएर उत्साहित पनि छिन् । आमाको भूमिका भएपनि चलचित्रमा केन्द्रीय भूमिका श्वेताको रहने निर्देशक थापाले बताए ।

हाल स्क्रिप्टको कार्य सकाएर लोकेशन फाइनल गर्ने काममा लागेका थापाले चलचित्रमा समावेश हुने अन्य कलाकार तथा प्राविधिकहरुको छनोट भईरहेको पनि जानकारी गराएका छन् ।

SUBSCRIBE 👉