चलचित्र सम्बन्धी विषय पाठ्यक्रममा समावेश हुने

तुलसी गिरी ‘भावुक’


चलचित्र बिकाश बोर्डको पहलमा पाठ्यक्रम बिकाश केन्द्र, सानोठिमीले नेपाली चलचित्र सम्बन्धी बिषयलाई पनि पाठ्यक्रममा समावेश गर्ने भएको छ l प्राप्त जानकारी अनुसार आगामी शैक्षिक सत्रदेखि निमाबि तहमा अध्ययन गर्ने सरकारी स्कूल र त्रिविवि अन्तर्गतका बिद्यार्थीहरुले ऐच्छिक रुपमा चलचित्र सम्बन्धी बिषय अध्ययन गर्न पाउने छन् l सरकारी स्कूल र कलेज पछि यो बिषयलाई निजी स्कुल र कलेजमा पनि लागू गर्ने योजना रहेको थाहा भएको छ l कोरोनाको प्रभाव कम भएपछि पाठ्यक्रम निर्माण प्रक्रिया सुरु गरिने कुरा चलचित्र बिकाश बोर्डका अध्यक्ष तथा चलचित्र पाठ्यक्रम निर्माण समितिका पदेन सदस्य दयाराम दाहालले जानकारी गराए l

यो पाठ्यक्रम लागू भएपछि चलचित्रको इतिहास जीवित रहने, नेपाली कला, संस्कृति र साहित्यको महत्व बढ्ने साथै नेपाली चलचित्रप्रति दर्शकको रुची बढ्न गई समग्र चलचित्र क्षेत्रमा नै सकारात्मक प्रभाव पर्ने विश्वास चलचित्र बिकाश बोर्डका अध्यक्ष दाहालले व्यक्त गरेका छन् l यो बिषय पाठ्यक्रममा समावेश भएपछि चलचित्रमा रुची हुने बिद्यार्थीहरुलाई स्कूल तहदेखि नै तयारीमा लाग्न मद्दत पुग्ने कुरा पाठ्यक्रम विकाश केन्द्रका महानिर्देशक केशव प्रसाद दाहालले बताए l