हास्यव्यङ्ग्य कलाकारको जीवनी अब मोबाइल एपमा

केही वर्षअघि नेपाली हास्यव्यङ्ग्य कलाकारको जीवनी सङ्ग्रहित पहिलो पुस्तक निकालेर चर्चामा आएका लेखक जीवनराज दाहालले पछिल्लो समय केही नयाँ सोचका साथ नयाँ हास्यव्यङ्ग्य कलाकारको नामावली थपी नि:शुल्क रुपमा पढ्न मिल्ने एप्लिकेसन बनाएका छन् । ‘अब पहिलेझैँ किताब किनेर पढ्नु पर्दैन, आफ्नो एन्ड्रोइड मोबाइल वा ट्याब्लेटबाट नि:शुल्क रुपमा किताब नै पल्टाएझैँ पन्ना पल्टाई पल्टाई पढ्न मिल्छ’ जीवनले भने ।

७२ जना हास्यव्यङ्ग्य कलाकारको फोटो सहितको जीवनी समेटिएको एपमा नयाँ पुराना ३०० जति यसै क्षेत्रका कलाकारको नामावली समेटिएको छ भने नेपालमा हास्यव्यङ्ग्यको सुरूआत, गाईजात्राको सुरूआत, चलचित्रमा हास्यरसको सुरूआत, नेपालका हास्य जोडीहरू लगायत देशका बिभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको शुभकामना समेत समावेश गरिएको छ ।

नेपाली एप्स घरले पब्लिक गरेको उक्त एपको नाम Biography of Nepali Comedy Artists राखिएको छ । पाँच एम. बि. साइज रहेको उक्त एपलाई गुगल प्लेस्टोरबाट आफ्नो एन्ड्रोइड सेटमा सजिलै इन्स्टल गरी पढ्न सकिन्छ ।

हाल Android भर्सनमा पढ्न मिल्ने एपलाई सम्भव भएसम्म IOS भर्सनमा ल्याउने सम्पादक उद्धवकुमार घिमिरेको योजना रहेको छ । जीवनराज दाहालले तयार पारेको कलाकारको जीवनी सङ्ग्रहलाई उद्धव कुमार घिमिरेले सम्पादन गरेका हुन् । हिरादेवी नेपालद्वारा प्रकाशन गरिएको उक्त किताबलाई विश्व स्वतन्त्र सञ्चारले वितरण गरेको थियो । 

SUBSCRIBE 👉