डा. उपाध्यायको पुन: १७ वर्ल्ड रेकर्ड, कूल वर्ल्ड रेकर्ड ३२ पुग्यो ।

तुलसी गिरी ‘भावुक’


दुईसाता आघि मात्र १२ भाषामा रहेको एउटै गीतबाट गिनिज बुक अफ वर्ल्ड रेकर्ड प्राप्त गरेका गीतकार डा. डी.आर. उपाध्यायले १७ फरक फरक विधामा पुन: वर्ल्ड रेकर्ड कायम गरेका छन् । साउन २५ गते आइतबार सामाजिक दूरी कायम गर्दै बागबजारस्थित होटल हार्दिकमा आयोजित एक समारोहमा श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादवले गीतकार उपाध्यायलाई १७ विधाका वर्ल्ड रेकर्डको प्रमाणपत्र प्रदान गरेका छन् । लकडाउनका बेला रचना गरिएका १७ फरक शैली र भावका गीतबाट उनले वर्ल्ड रेकर्ड राखेका हुन् ।

यसअघि वर्ल्ड बुक्स अफ अमेरिका, अष्ट्रेलिया, वर्ल्ड बुक्स अफ लण्डन लगायत बिभिन्न देशबाट वर्ल्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरेका उपाध्यायले मिराकल वर्ल्ड रेकर्ड, इण्डिया स्टार वर्ल्ड रेकर्ड, एक्सक्लुसिभ वर्ल्ड रेकर्ड, जीनस वर्ल्ड रेकर्ड र एभरेष्ट वर्ल्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरिसकेका छन् । फरक फरक विधामा १५ वर्ल्ड रेकर्ड राखिसकेका गीतकार उपाध्यायको आइतबारबाट वर्ल्ड रेकर्डको विधा ३२ पुगेको छ l यति धेरै विश्व रेकर्ड राख्ने सम्भवत: उनी संसारकै पहिलो व्यक्ति हुन् । 

डा. उपाध्यायका ‘प्रणय’, ‘कृति’, ‘माउण्टेन मेलोडी’, ‘नशालु नजर’, ‘सेभेन्थ कडस’, ‘अन्जान तिर्खा’, ‘जोहो’, ‘प्रतिनाद’, ‘नजरको तीर’, ‘अनुभूतिको मझेरी’, ‘स्वर्गघर’, ‘परिष्कृत’, ‘पृथक’, ‘सहेली’, ‘सौभाग्यको सिन्दुर’, ‘अन्तराप’, ‘जखम’ र ‘मायाको सागरमा’ जस्ता १९ वटा गीति एल्वमका सयौं गीत सार्वजनिक छन् । त्यस्तै उनका ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘दगाबाज’ ‘स्वार्थी’, ‘अधुरो प्रेम’, ‘त्यागी’, ‘वज्रघात’, ‘अपवित्र छाया’, ‘बिटुली’ र सपनाकी रानी जस्ता दश उपन्यास पाठकमाझ आइसकेका छन् ।

समारोहमा संसारकै सबैभन्दा सानो गीतसङ्ग्रह ‘अनुभूतिको मझेरी’ का साथै ‘हृदयको झङ्कार’, ‘धरोहर’, ‘चाहनाको महल’ र ‘कर्तव्य वोध’ गरी ४ वटा गीति एल्बम पनि लोकार्पण गरिएको थियो । आजबाट उनको कूल गीति एल्बमको संख्या पनि २३ पुगेको छ ।  २०७५ साल असार ८ गते पहिलो एल्बम ‘प्रणय’ प्रकाशन गरी औपचारिक रुपमा सङ्गीत बजारमा देखा परेका गीतकार उपाध्यायले २ बर्षको अवधिमा २३ एल्बम सार्वजनिक गरी नेपालको साङ्गीतिक इतिहासमा मात्र नभई विश्वकै इतिहासमा अनौठो रेकर्ड राखेका छन् । उनको यो यात्रामा सङ्गीतकार तथा गायकद्वय सन्तोष श्रेष्ठ र सागर अधिकारी ‘शरद’ को विशेष भूमिका एवं सहकार्य रहेको छ ।