गीतकार श्रापितको‌ तीजगीत ‘छाता ओढी ओढी’बजारमा

राजधानी बाहिर‌ बसेर पनि अत्याधिक गीत रेकर्ड गराउने एक‌ अब्बल‌ गीतकारको‌ रुपमा पहिचान बनाएका‌ गीतकार सुमन श्रापितको‌ रचनाको तीजगीत छाता ओढी ओढी  को भिडियो हालै बजारमा आएको‌ छ । यस गीतमा लोकप्रिय गायिका मेलिना राई र जीवन परियारले आवाज दिएका छन् भने सङ्गीत जीवन परियारकै‌‌ रहेको छ ।

दुई दशकदेखि पोखरामा रहेर गीत सङ्गीतमा क्रियाशील सुमन श्रापित सबैखाले गीत लेखनमा उत्तिकै ‌कुशल गीतकार हुन् । उनका आधुनिक, लोक, लोक‌पप, चलचित्र, भजन र चाड विशेष एवं साँस्कृतिक भावका आदि गरी झण्डै दुईसय गीत रेकर्ड भएका छन् । श्रापितका चाड बिशेष गीत अन्तर्गत तीज गीतहरु‌ दर्जनौं रेकर्ड भएका छन् । तीजका नाममा सँस्कृति नै धमिलिने गरी गीत बनिरहेको परिस्थिमा त्यो भन्दा बिल्कुलै ‌फरक र सँस्कृति झल्किने खालका गीत लेख्ने गीतकार श्रापितका तीज गीतहरु सभ्य र शालिन हुने गरेको पाइन्छ। फलस्वरूप उनी शालिन गीतकारका रुपमा पनि‌ चिनिएका छन् ।

अञ्जु पन्त र स्वरुपा रसाइलीको‌ आवाजमा रहेको यसपालीको तीज आहा कत्ति‌ रमाइलो सुनिता दुलालको‌ आवाजमा रहेको‌ सधैं तीजमा व्रत बस्छु, देविका बन्दनाको आवाजमा रहेको‌ फुरुक्कै परें बरी लै त्यसैगरी तृतीया तिथिमा तीज, अर्गानिक तीज, हस्पिटल जिन्दाबाद, माइतीको आँगन, गिनिज बुकमा नाम लेखौं, खद्दरको सारी, ओइ हेर न कस्ती भा’की छु, छमछम नाचम् छमछम आदि उनका चलेका तीज गीतहरु हुन् । माथि उल्लेखित गीतहरुमा उनका अनन्य ‌मित्र बिबि अनुरागीको सङ्गीत रहेको छ ।

तीज गीतका अलावा जसलाई मुटुको अंश, मेरो‌ धड्कन तिमी, दिलराजा दिलरानी, फिल्म परदेशीको‌ सिरिमा सिरी, फिल्म निशानीको पूर्वैबाट पश्चिम आयौअच्छा लेकिन क्या बात, फिल्म जीवन लिलाको कहिले ओराली झर्छ जिन्दगी आदि‌ उनका चर्चित गीतहरू ‌हुन् । एकपछि अर्को खुड्किलो चढ्दै साङ्गीति क्षेत्रमा चर्चा कमाइरहेका गीतकार सुमन श्रापितको यसबर्ष अरु तीज गीतहरु पनि रेकर्ड भएका थिए तर विशेष कारणबस प्रकाशन हुन सकेनन्‌ । यो‌ बर्ष प्रकाशनमा आएको‌ तीजगीत छाता ओढी ओढी को भिडियो दीपक कार्कीले निर्देशन गरेका छन् भने सागर बस्यालको छायाङ्कन तथा सम्पादन रहेको छ ।

त्यसैगरी भिडियोमा राजेश सेती मगर र सुशिला पुन मगरको अभिनय देख्न‌‌ सकिन्छ । ‘तीज नाच र गीतको‌ पर्व हो‌ l तसर्थ जस्तै पानी ‌झरी‌ परेपनि‌ छाता ओढी ओढी  भए नि‌ नाचेर खुशीले तीज मनाउनुपर्छ भन्ने ‌यो गीतको‌ मूल‌ मर्म हो’ गीतकार श्रापित भन्छन् ।‌