कोरोनाबाट सचेत रहन चलचित्र कलाकार सङ्घको अपिल

तुलसी गिरी ‘भावुक’


चलचित्रकर्मीहरुको छाता सङ्गठन नेपाल चलचित्र कलाकार सङ्घ ले एक प्रेस विज्ञप्ति प्रकाशित गरी कोरोना सङ्क्रमणबाट जोगिनका लागि होशियार रहन तथा आफ्नो दैनिकीमा परिवर्तन गर्न सबैलाई अपिल गरेको छ l सङ्घका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ – ‘लकडाउन हटेता पनि कोभिड १९ ( कोरोना ) रोगको प्रकोप दिन प्रतिदिन भयावह बन्दै गईरहेको छ । स्थानीय स्तरमा भएको सङ्क्रमण फैलिएर समुदायलाई नै सङ्क्रमित बनाउने जोखिम बढिरहेको छ । यसो हुनुमा हामी आफैंले सङ्क्रमणबाट जोगिन अपनाउनु पर्ने उपायहरुलाई गम्भीरतापूर्वक पालना गरिरहेका छैनौ भन्ने स्पष्ट हुन्छ । यस अवस्थामा आफू र अरुलाई पनि सङ्क्रमणबाट बचाउन हाम्रो पहिलो कर्तब्य र दायित्व हुन आउँछ । सङ्क्रमणबाट आफू पनि बच्न र अरुलाई पनि बचाउन दैनिकीमा पनि हामीले संयमित र मर्यादित हुन जरुरी भएको छ । मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, साबुन पानीले हात धुने, भीडभाड भएको ठाउँमा नजाने, भीडभाड नगर्ने, अति आवश्यक काम पर्दा मात्र घरबाट बाहिर निस्कने गरेमा कोरोनाको जोखिमबाट बच्न सक्ने सम्भावना भएकाले सम्पूर्ण जनसमुदाय र विशेष गरेर चलचित्रकर्मीहरुलाई सावधानी अपनाई आफू र अरुको जीवन कोरोनाको सङ्क्रमणबाट सुरक्षित गर्न नेपाल चलचित्र कलाकार सङ्घ हार्दिक अपिल गर्दछ ।

अहिलेको विषम परिस्थितिमा पनि नेपाल चलचित्र कलाकार सङ्घ आफ्नो नियमित सेवामा कटिवद्ध छ । कोरोना प्रकोपको सङ्क्रमणकालमा सङ्घले राहतको बिभिन्न सेवा प्रदान गर्दै आइरहेको छ । अझैपनि केही सदस्यहरु समस्या र अप्ठारोमा हुनुहुन्छ भने सङ्घलाई जानकारी गराउनोस्, सङ्घ  सदैव आफ्ना सदस्यहरुको सेवामा तत्पर रहेको पनि यही वक्तव्य मार्फत जानकारी गराउन चाहन्छौं ।

कोरोनाको सङ्क्रमण बढ्दो अवस्थामा रहेकाले सङ्घले आयोजना गर्न लागेको कलाकार बीचको अन्तरक्रिया र कार्यशालाका निर्धारित कार्यक्रम हाललाई स्थगीत गरिएको पनि यसै वक्तब्य मार्फत जानकारी गराउँदछौं  ।’