शिवशंकर रिजाल ‘जोगिन्दर’ को नाममा नेपाली गुट्का

जोगिन्दर पानवाला उपनामले लोकप्रिय अभिनेता शिव शंकर रिजालको  नाममा गुट्का निस्किने भएको छ । पान पसलेको रुपमा जोगिन्दरको भूमिकामा प्रस्तुत हुने उनको नाममा नेपाल ब्राण्डको एउटा गुट्खा निस्किने भएको हो ।यही साउन १९ गते सोमबारदेखि बजारमा उपलब्ध हुने गुट्खाको नाम नै  जोगिन्दर गुट्का राखिएको छ ।

नेपालमै उत्पादन हुने उक्त प्रोडक्ट आफ्नो नामबाट निस्किदा कलाकार रिजाल निकै खुशी छन् ।नेपाली कलाकारिताको इतिहासमै कुनैपनि कलाकारको उपनामबाट निस्किन लागेको प्रोडक्ट  नेपालमा  सम्भवत: यो पहिलो हो ।

‘मेरो नाममा प्रोडक्ट निकाल्दै छु भनेपछि मलाइ खुशी लाग्यो । हामीले प्रस्तुत गरेको क्यारेक्टरमा लगानी गरेर कसैले स्वदेशमा रोजगारीको अवसर ल्याउँछ भने खुशी हुनुपर्छ’ कलाकार रिजालले पत्रकार सम्मेलनमा भने । जोगिन्दर गुट्का का उत्पादक हिरालाल शाहले पनि आफूले कम्पनी स्थापना गर्दै स्वदेशमै रोजगारीको सृजनामा  लागेको बताए ।

उनले ब्राण्डका लागि अन्य नाम पनि कल्पना गरेका थिए, तर अरुसँग मिल्दोभएपछि आफूलाई  मनपर्ने टेलिभिजन कार्यक्रम ‘जोगिन्दर बोले प्रणामजी’  बाट जोगिन्दर सापटी लिँदै प्रोडक्ट नै बजारमा ल्याएका उनको भनाइ छ ।हिरालाल स्वयं पान व्यवसायी हुन् ।

उनले जोगिन्दरको टेलिभिजन कार्यक्रमका नियमित दर्शक समेत हुन् ।
‘हामी पान व्यवसायीको शान जोगिन्दरजीले बढाउनु भएको छ । त्यसैले उहाँको सम्मानमा प्रोडक्ट बजारमा ल्याएका हौँ’ शाहले भने ।

शिवशंकरले उनले आफ्नो उपनाम प्रयोग गरेर स्वदेशमै कुनै प्रोडक्ट उत्पादन हुन्छ र त्यहाँ केहि नेपालीले रोजगार पाउँछन भने त्यो खुशीको कुरा रहेको बताए ।

SUBSCRIBE 👉