गीतकार थापाको आठौँ कृति ‘फूलको मुस्कान’ सार्वजनिक


तुलसी गिरी ‘भावुक’

कवि / गीतकार तथा समाजसेवी घन बहादुर थापाद्वारा लिखित गीतसङ्ग्रह फूलको मुस्कान सार्वजनिक भएको छ l २ सय ७ औं भानु जयन्ती तथा नेपाली साहित्य विकाश परिषद्, यू. के. को रजत बार्षिकोत्सवको अवसरमा गीतकार थापाको सो पुस्तकको लोकार्पण भएको हो l यू. के. का लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुवेदी क्षेत्रीले प्रमुख अतिथिको आसनबाट सो पुस्तक लोकार्पण गरेको कुरा थाहा भएको छ l

कवि / गीतकार भावेश भुमरीद्वारा सम्पादित १ सय ६४ पृष्ठको सो पुस्तकमा १ सय १४ वटा गीत रहेका छन् l जसमध्ये २ वटा गीत मगर भाषामा छन् l पुस्तकमा आधुनिक, लोक तथा दोहोरी, राष्ट्रिय भाव लगायत विविध विधाका गीत समेटिएका छन् भने प्रेम, विछोड, प्रकृति, देशप्रेम, सामाजिक कुरीति / विसङ्गति, परदेशका पीडा आदि भावहरु व्यक्त भएका छन् l समाज सेवाको क्षेत्रमा अतुलनीय कहलिएका साहित्यकार घन बहादुरको यो आठौँ कृति हो l नेपाली साहित्य विकाश परिषद्, यू. के. द्वारा प्रकाशित यो पुस्तक प्रकाशनका लागि आर्थिक व्यवस्थापन गीतकारकै पत्नी कृष्णा थापा मगरले गरेकी हुन् l साहित्यकार तथा समाजसेवी घन बहादुरको सामाजिक कार्य तथा साहित्यिक गतिविधिमा पत्नी कृष्णाको पनि उत्तिकै सकारात्मक र प्रेरणादायी साथ रहँदै आएको छ l

कार्यक्रममा परिषद् भित्र रहेर वा बाहिरबाट नेपाली भाषा साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पुरयाउने परिषद्का संरक्षक लगायत पदाधिकारी, कूटनीतिज्ञ, अन्य सङ्घ संस्थाका साहित्यकार र सञ्चारकर्मीहरू समेत गरि ९३ जनालाई नगद, पदक र प्रशंसापत्र सहित सम्मान गरिएको थियो l यसैगरी कार्यक्रममा कवि गोपाल पराजुलीको कृति अ सोल्जर इन सर्च अफ पिस र लेखक एवं सामाजिक अभियन्ता सुरेन्द्र नेपाल श्रेष्ठको मेरो आधा शताब्दी पुस्तकहरुको पनि विमोचन गरिएको थियो । ‘फूलको मुस्कान मेरी धर्मपत्नी कृष्णा थापा मगरको मुस्कान जस्तै हो । यो फूलको मुस्कान र हाँसो मेरो बाबा आमाको प्रेरणाले मुस्कुराएको हो’ गीतकार घन भन्छन् । छरिएर रहेका आफ्ना गीतहरुलाई एकीकृत गरी पुस्तकको रुप दिईएको कुरा गीतकार थापाले जानकारी गराएका छन् l