रोजगारीका लागि परदेशिनेहरुको कथा ‘करौंती’


-तुलसी गिरी ‘भावुक’

लोकप्रिय सर्जक / कलाकार बि. बि. अनुरागीले धन कमाउन परदेशिएको एउटा युवक र उसको परिवारको वियोगान्त कथामा आधारित लोकगीत करौंती को भिडियो सार्वजनिक गरेका छन् l  रोजगारीका लागि परदेश जान विवश नेपालीहरुप्रति समर्पित भनिएको यस गीतमा बि. बि. अनुरागीकै शब्द, सङ्गीत, सङ्गीत संयोजन र स्वर समेत रहेको छ l गीतको रेकर्डिङ किरण विश्वकर्मा र सुकराम रसाईलीले गरेका हुन् भने अडियो मिक्सिङ / माष्टरिङ श्यामश्वेत रसाईलीको रहेको छ l

भिडियोमा अनुरागीले बाबु र छोराको डबल रोलमा शसक्त अभिनय गरेका छन् l यसैगरी भिडियोमा सर्जक बि. बि. कै पत्नी सुनिता, छोरी शिक्षा र छोरा सर्जकको पनि महत्वपूर्ण भूमिका रहेको छ l भिडियोको परिकल्पना तथा निर्देशन बि. बि. स्वयम्ले गरेका हुन् l   जसमा छायाङ्कन, सम्पादन र कलर करेक्शन विवेक विश्वकर्माको रहेको छ l

पछिल्लो समय आफ्नै युट्युब च्यानलमा अर्थात भिडियोमा समेत सक्रिय देखिंदै आएका अनुरागीले पारिवारिक सहभागितामा भिडियो निर्माण गर्दै आएका छन् l जसले गर्दा परिवारका हरेक सदस्यहरु अभिनयमा समेत पोख्त हुँदै गएको देखिएको छ l यथार्थपरक वियोगान्त कथामा आधारित यस म्युजिक भिडियोमा ऋणमा डुबेको एउटा परिवारको विवशता, बाध्यता र कारुणिक स्थितिलाई जीवन्त रुपमा प्रस्तुत गरिएको छ l  यो गीत तथा भिडियोलाई रोजगारीका लागि विदेशिएका तमाम नेपालीहरुको प्रतिनिधि कथाका रुपमा मूल्याङ्कन गर्न सकिन्छ l