दशनामीहरुबीच अनलाइनबाटै साहित्यिक प्रतियोगिता हुने l

-तुलसी गिरी ‘भावुक’


हेम गिरीको परिकल्पना, दीपक पुरीको संयोजन तथा दशनामी फन ग्रुपको आयोजनामा अनलाइन साहित्यिक प्रतियोगिताको आयोजना हुने भएको छ l प्रतियोगिताका संयोजक दीपक पुरीका अनुसार ‘दशनामी अनलाइन प्रतिभा प्रतियोगिता’ अन्तर्गत पहिलोपटक ‘साहित्य रचना वाचन प्रतियोगिता’ हुन लागेको हो l प्रतियोगिताका पहिलो, दोस्रो र तेस्रो विजेतालाई क्रमश: जनही नगद रू. ७ हजार, ४ हजार र २ हजार ५ सयद्वारा पुरस्कृत गरिने छ भने नगद रू. १ हजार ५ सय सहित एकजनालाई सान्त्वना पुरस्कार दिईने छ l प्रतियोगितामा हेम भण्डारीले एकल निर्णायकको भूमिका निर्वाह गर्ने छन् l पुरस्कारको राशी नारायण भारती र इशा शर्मा भारतीले सहयोग स्वरूप उपलब्ध गराएको थाहा भएको छ l

प्राप्त जानकारी अनुसार स्वदेश तथा विदेशमा रहेका जुनसुकै उमेरका दशनामी महिला / पुरुषले यस प्रतियोगितामा भाग लिन सक्ने छन् l प्रतियोगीले नेपाली भाषामा रचना गरेको ३ देखि ५ मिनेट लामो कुनैपनि विधाको मौलिक रचनालाई स्वयम् वाचन गरी प्रतिस्पर्धामा समावेश गर्न सक्नेछन् l रचना वाचनको भिडियो ‘वाइड फ्रेम’ मा खिच्नुपर्ने छ भने कसैमाथि आक्षेप लगाइएको, अश्लिल वा जातीय, धार्मिक, साम्प्रदायिक र लैङ्गिक विभेद गरिएका रचनालाई प्रतियोगितामा समावेश गरिने छैन l यसैगरी पहिलो चरणको सहभागिताका लागि रचनाको बिषयलाई स्वतन्त्र छाडिएको छ l दोस्रो र अन्तिम चरणको प्रतिस्पर्धाका लागि भने आयोजकले रचनाको बिषय तोक्ने छन् l प्रतियोगिताका परिकल्पनाकार हेम गिरीका अनुसार दोस्रो चरणको प्रतिस्पर्धाका लागि कूल प्रतियोगीहरु मध्येबाट ५० प्रतिशतलाई छनोट गरिने छ भने तेस्रो तथा फाइनल चरणमा ४ जना मात्र पुग्ने व्यवस्था गरिएको छ l जसमध्ये सबै पुरस्कृत हुने छन् l

प्रतियोगितामा भाग लिन चाहने दशनामीहरुले आगामी असार १२ गतेभित्र nepaldashami@gmail.com मा भिडियो पठाईसक्नुपर्ने छ l कुनै समस्या आएमा वा थप जिज्ञाशा भएमा कार्यक्रम संयोजक दीपक पुरीलाई सिधै ९८४३२९१९४३ वा ९८१८४२९८६४ नम्बरमा सम्पर्क गर्न सकिने कुरा समेत आयोजक ग्रुपले जानकारी गराएको छ l यो प्रतियोगिता सम्पन्न भएपछि फन ग्रुपले क्रमैसँग नृत्य, गायन, अभिनय, वक्तृत्वकला लगायतका विधामा पनि प्रतियोगिता गराउँदै लाने कुरा संयोजक पुरीले बताएका छन् l