आईओभी नेपाल शाखाको अध्यक्षमा शीतल आचार्य ‘सीता’ मनोनित

लामो समयदेखि साँस्कृतिक कला तथा सङ्गीतमा लागेर नेपालमा मात्र नभई विश्वका ५० भन्दा बढी देशहरूमा कला संस्कृतिको माध्यमबाट आफ्नो परिचय स्थापित गर्न सफल संस्कृतिकर्मी, कलाकार, मोडेल तथा कुशल व्यवस्थापक शीतल आचार्य ‘सीता’ अन्तर्राष्ट्रिय साँस्कृतिक महासङ्घ ‘आईओभी’ { International Organization of Folk Arts ‘IOV’ } नेपाल शाखाको अध्यक्ष जस्तो गरिमामय पदमा ४ वर्षको लागि मनोनित भएकी छन् ।

कोरोना महामारीको कारण भिडियो कन्फ्रेन्सका माध्यमबाट बसेको आईओभीको बोर्ड मिटिङले केही समयदेखि रिक्त रहेको उक्त पदमा आचार्यलाई मनोनित गरेको हो । एभरेष्ट नेपाल कल्चरल ग्रुपमा सन् २०१२ देखि आबद्ध रही निरन्तर रूपमा लोककला, संस्कृतिको संरक्षण र प्रबर्धनमा समर्पित रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा लोककला र संस्कृतिको उत्थानका लागि पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै आचार्यलाई सो गरिमामय पदमा मनोनित गरिएको जनाइएको छ ।

आईओभी महासङ्घको मुख्य उद्देश्य विश्वमा लोक संस्कृतिको संरक्षण, सम्बर्धन र प्रबर्धन गर्ने तथा बिभिन्न देशमा अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलामा सहभागी हुने, अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्ने तथा बिभिन्न देशको लोक संस्कृतिको बारेमा अनुसन्धान गर्ने रहेको छ । सन् १९७९ मा स्थापित आईओभी महासङ्घमा १ सय ५० भन्दा बढी मुलुकहरू सदस्य रहेका छन् ।