एउटा विक्षिप्त पात्रको जिजीविषा : ‘हे मन…’

-तुलसी गिरी ‘भावुक’


कोरोना भाइरसका कारण लकडाउनमा बसेका सर्जक / कलाकारहरु असहज परिस्थितिमा पनि उपलब्ध भएका प्रविधिको सदुपयोग गर्दै यस विरुद्धका चेतनामूलक गीत तथा भिडियो निर्माणमा जुटिरहेका छन् l  एकपछि अर्को कोरोना विरुद्धका गीतहरु सार्वजनिक भईरहेका बेला लकडाउनको समय अनिश्चित बन्दै गएपछि भिडियो छयाङ्कनको क्रममा रहेका फरक भावका गीत पनि तत्कालका लागि लिरिकल भिडियोको रुपमा समेत रिलिज गर्न थालिएको छ l  यसै सन्दर्भमा भर्सटाईल सर्जक / कलाकार शंकर थापा ‘स्माइल’ ले कोरोना भन्दा फरक विषयको गीत हे मन को लिरिकल भिडियो सार्वजनिक गरेका छन् l राखी गौचनको शब्दरचना र विश्व अधिकारीको सङ्गीत संयोजन रहेको यो गीत ‘स्माइल’ ले आफ्नै सङ्गीतमा गाएका हुन् l ओपल रेकर्डिङ स्टुडियोमा विप्लव अधिकारीले रेकर्ड गरेको यो गीतमा अशोक महर्जनको मिक्सिङ / माष्टरिङ रहेको छ भने देवजंग थापाको सम्पादनमा लिरिकल भिडियो तयार भएको हो l गीतमा सन्तोषभक्तले ईसराज, वीपी सिंहले तबला, विश्व अधिकारीले गीतार र नगेन्द्र राईले बाँसुरी बजाएका छन् l

भिडियो DushMusic Nepal नामक युट्युब च्यानलबाट रिलिज गरिएको छ l गीतमा जीवनका अनेक मोडहरुका घातैघात र चोटैचोटले विक्षिप्त बनेको एउटा पात्रको जिजीविषा हृदयस्पर्शी ढङ्गमा व्यक्त गरिएको छ भने गीतका भावलाई सङ्गीतकार / गायक शंकर थापा ‘स्माइल’ ले जीवन्त बनाएका छन् l