आफ्नै जन्मदिनमा डा. देवी नेपालले सार्वजनिक गरे जागरण गीत

-प्रकाश सुवेदी


नेपाली छन्दकविताका प्रखर अभियन्ता, देश र विदेशमा बसी छन्दकविता लेख्ने हजारौँ नवप्रतिभाका प्रेरक र गुरु, बहुमुखी साहित्यिक प्रतिभाका धनी व्यक्तित्व, कवि तथा समालोचक प्राज्ञ डा. देवी नेपालले आफ्नो जन्मदिनको अवसरमा आफ्नै शब्द र गायक सङ्गीतकार तुलसी पराजुलीको स्वर र सङ्गीतमा म मार्न दिन्नँ मानव जागरण गीत सार्वजनिक गरेका छन् । अहिले सारा विश्वभरि मानवता हराउँदै मान्छे स्वार्थी र आत्मकेन्द्रित बनिरहेको अवस्थामा मानवले मानवलाई सहयोग गर्न सक्नुपर्छ भन्ने भाव बोकेको यस गीतको छायाङ्कन भवानी नेपालले, भिडियो सम्पादन वीरेन्द्र भाट ‘विपिन’ ले  र वाद्यवादनको काम भरत बस्नेतले गरेका छन् ।

SUBSCRIBE 👉

संसारमा बेला बेला बाढीपहिरो, हिउँतुषारो, भूकम्प, ज्वालामुखी जस्ता विपत्ति र कोरोना, इबोला, प्लेग जस्ता महामारी आएर प्राणी जगतलाई तर्साइरहेका हुन्छन् । निर्माण र विनाश प्रकृतिको नियम नै हो । मान्छेले प्रकृतिमाथि गरेको अधिकतम दोहनले हामीसँग प्रकृति रिसाएर सन्तुलन गर्न यस्तो गरेकी पनि हुन सक्छिन् । यस्तो अवस्थामा सबैभन्दा ठूलो औषधी भनेकै हिम्मत नहारीकन समयानुकूल परिस्थितिसँग सामना गर्नु नै हो ।
यहाँ सकारात्मक सोच र दृढ सङ्कल्प राखियो भने हरेक समस्याको उपाय छ । समुद्रमन्थन गरेर होस् या पहाड फोरेर होस् विपत्तिको औषधी निकाल्न सक्छु भन्ने अठोट गीतकारले आफ्नो गीतमार्फत गरेका छन् । लकडाउनले सबै व्यावसायिक स्टुडियो बन्द भएको अवस्थामा पनि घरेलु प्रविधिबाट नै तयार पारिएको यो गीत छन्दानुरागीहरूको सृजनात्मक डिजिटल पाठशाला छन्द–पराग नामक युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

गीत
म हार्न दिन्नँ विश्व यो, म मार्न दिन्नँ मानव
म छिर्न दिन्नँ त्रासदी, म गिर्न दिन्नँ गौरव

म पुग्न सक्छु चन्द्रमा, म टेक्न सक्छु मङ्गल
म छिर्न दिन्नँ विश्वमा, नयाँ कुनै अमङ्गल
म बस्छु बन्द जेलमा र गर्छु विश्वचिन्तन
निकाल्छु एक औषधी गरी समुद्रमन्थन ।

सुटुक्क स्वर्गमा गई म अग्नि चोर्न सक्दछु
छ औषधी कतै भने पहाड फोर्न सक्दछु
म एक अंश व्योमको, म एक वंश भूमिको
म बाँच्छु नित्य गर्वले, अजम्मरी छु सृष्टिको ।

SUBSCRIBE 👉