स्व. भट्टराईको परिवारलाई अमेरिकाबासी निर्देशकहरुको सहयोग

अमेरिकामा बस्दै आएका नेपाली चलचित्रका निर्देशकहरुले स्वर्गीय केशव भट्टराईको परिवारलाई आर्थिक सहयोग गरेका छन् । उनीहरुले चलचित्र निर्देशक समाज मार्फत १ लाख २६ हजार ५ रुपैया स्व. भट्टराईको परिवारलाई सहयोग गरेका हुन् । चलचित्र निर्देशक समाजका अध्यक्ष रक्षा सिंह राणा र महासचिव जनकदिप पराजुलीले सहयोग सङ्कलन समितिलाई सो रकम हस्तान्तरण गरेका छन् l  विकाश वोर्डका पूर्व अध्यक्ष तथा सहयोग सङ्कलन समितिका संयोजक राजकुमार राई, समितिका सदस्यहरु निर्देशक दिपाश्री निरौला र सञ्चारकर्मी प्रकाश सुवेदीलाई आजै रकम हस्तान्तरण गरिएको हो ।

सो सहयोग रकम अमेरिका बस्दै आएका चलचित्र निर्देशक नारायण पुरी, गोपाल चन्द्र लाम्छाने, दिनेश कार्की, किशोर सुब्बा, अक्की शर्मा, यादव सिलवाल, बीबी फुँयाल र सुमन दाहाल मार्फत आएको जानकारी प्राप्त भएको छ । सञ्चारकर्मी सुवेदीले यो रकम स्व. केशव भट्टराईकी पत्नीलाई तत्कालै प्रदान गरिने कुरा जानकारी दिएका छन् । स्व. भट्टराईको परिवारलाई सहयोग गर्न चाहनेले सिटिजन बैंक, कपन शाखाको खाता नम्बर ०२४०१०००००५०७०४१ मा रकम जम्मा  गराइदिन पनि सञ्चारकर्मी सुवेदीले आग्रह गरेका छन् ।