थप १३ विश्व रेकर्ड राख्दै डा. डी. आर. उपाध्याय

तुलसी गिरी ‘भावुक’


कीर्तिमानी गीतकार डा. डी. आर. उपाध्यायले साहित्य र सङ्गीतमा गरी आगामी बैशाखभरिमा थप १३ वटा वर्ल्ड रेकर्ड राख्ने भएका छन् l यसअघि १४ वटा वर्ल्ड रेकर्ड राखिसकेका उपाध्यायलाई नेपाल लगायत भारत, वेलायत, क्यानडा, अष्ट्रेलिया र अमेरिकाका १५ भन्दा बढी संस्थाहरुले वर्ल्ड रेकर्डको प्रमाणपत्र प्रदान गरिसकेका छन् l १३ नयाँ रेकर्ड राखिसकेपछि उपाध्यायका कूल २७ वर्ल्ड रेकर्ड हुने छन् l

प्राप्त जानकारी अनुसार गीतकार उपाध्यायद्वारा रचित १२ भाषा { नेपाली, हिन्दी, चाइनिज, जापानिज, अंग्रेजी, रशियन, कोरियन, फ्रेन्च, स्पेनिश, अरेबिक, जर्मनी र थाई } मा रेकर्ड गरिएको एउटा गीत यही फागुन महिनामा सार्वजनिक हुँदैछ l  गिनिज बुक अफ वर्ल्ड रेकर्डको लागि समेत पठाउने तयारी भईरहेको यो गीतमा सन्तोष श्रेष्ठको सङ्गीत रहेको छ भने गीतकार स्ययं, सागर अधिकारी ‘शरद’ र योगेश काजीले स्वर दिने छन् l

यसैगरी आगामी बैशाख महिनामा २ गीति एल्बम र एक गीति पुस्तकको लोकार्पण हुँदैछ l  सोही अवसरमा सङ्गीत विधाबाट ८ र साहित्य विधाबाट ४ गरी कूल १२ वर्ल्ड रेकर्ड सार्वजनिक गर्ने कार्यक्रम समेत रहेको छ l आगामी असार महिनामा डा. उपाध्यायद्वारा लिखित ‘चोट’ शीर्षकको अर्को उपन्यास पनि सार्वजनिक हुने कुरा थाहा भएको छ L यति धेरै विश्व रेकर्डको पछि किन लाग्नुभएको ? भन्ने जिज्ञाशा राख्दा गीतकार डा. डी. आर. उपाध्याय भन्छन् -‘म अरुभन्दा भिन्न र अद्भुत काम गर्न मन पराउँछु l मेरो त्यही फरक स्वभावका कारण मैले गरेका काम अनौठा, नौला र अपूर्व भएका हुन् l मैले विश्व रेकर्डकै लागि भनेर काम गरेको नभई मेरा काम पृथक भएकै कारणले तिनले विश्व रेकर्ड राखेका हुन् l’