–तुलसी गिरी ‘भावुक’
‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मूल नाराका साथ ‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले ‘दशौँ अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला २०७६’ को आयोजना गर्ने भएको छ l राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी कल्चरल ग्रुपले सो कुरा जानकारी गराएको हो l आयोजक संस्थाले दिएको जानकारी अनुसार आगामी फागुन १७ गतेदेखि २४ गतेसम्म काठमाण्डौ र पोखराका बिभिन्न स्थानमा महोत्सवमा सहभागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुले आ-आफ्नो देशका साँस्कृतिक प्रस्तुतिहरु राख्ने छन् l फागुन १७ गते शनिबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा मेलाको शुभारम्भ हुने छ l

प्राप्त जानकारी अनुसार यस पटकको अन्तर्राष्ट्रिय मेलामा नेपाल लगायत इष्टोनिया, मेक्सिको, बङ्गलादेश, भारत, मलेशिया, डेनमार्क, इजरायल, बुल्गेरिया, श्रीलंका र इजिप्ट गरी ११ राष्ट्रका २ सय ५० भन्दा बढी कलाकारहरुको सहभागिता रहने छ l महोत्सवमा कलाकारहरुले आ-आफ्नो देशको संस्कृति झल्कने भेषभूषा लगाई साँस्कृतिक झाँकी सहित लोक नृत्यहरु प्रस्तुत गर्ने छन् l यसैबीच बिदेशी कलाकारहरुले काठमाण्डौ आसपासका केही विद्यालयमा आफ्नो देशका मौलिक तथा साँस्कृतिक नृत्यको प्रस्तुति दिने छन् भने सम्बन्धित विद्यालयका विद्यार्थीहरुले पनि साङ्गीतिक प्रस्तुति राख्ने कुरा आयोजक संस्थाका अध्यक्ष रामचन्द्र कोईरालाले जानकारी गराएका छन् l

आजभन्दा दुई दशक अगाडि स्थापित ‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले आफ्नो स्थापना कालदेखि नै देश तथा विदेशमा नेपाली मौलिक संस्कृति झल्कने विविध कार्यक्रमहरु नियमित रुपमा गर्दै आईरहेको छ भने पहिलोपटक २०५९ सालमा ‘प्रथम अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला’ आयोजना गरेको यस संस्थाले त्यसपछि दुई दुई बर्षको अन्तरमा नियमित यस प्रकारको मेलाको आयोजना गरिरहेको छ l प्रथमदेखि नवौं साँस्कृतिक मेला सम्पन्न भईसक्दा ७५ मुलुकका ४ हजार भन्दा बढी कलाकारहरुले आ-आफ्ना देशका मौलिक कला-संस्कृति झल्कने प्रस्तुति दिईसकेको कुरा समेत आयोजक संस्थाका अध्यक्ष कोईरालाले बताएका छन् l नेपाली लोक कला तथा संस्कृतिलाई सबैभन्दा बढी अन्तर्राष्ट्रिय मुलुकमा प्रचार प्रसार गर्दै आएको ‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले हालसम्म १०० भन्दा बढी देशमा नेपाली लोक कलाको प्रस्तुति दिईसकेको थाहा भएको छ l

Add Comment