मौलिक लोक सङ्गीतमा समर्पित सर्जक/कलाकार गङ्गा घिमिरे

-राजु बोहरा

घरदेशमा हुँदा मात्र नभएर परदेशमा रहँदा पनि नेपाली सङ्गीतका भिन्न भिन्न विधा मार्फत् नेपाली सर्जक कलाकारहरु निरन्तर क्रियाशील रहँदै आएका छन् । बिभिन्न कारणले परदेशमा रहेपनि नेपाली सङ्गीत क्षेत्रमा लगानी गर्ने र आफ्नो कला प्रस्तुत गर्ने नेपालीहरु ठूलै संख्यामा रहेको हामी पाउँछौं । कलाकारहरुले आफ्नो लोक संस्कृतिको जगेर्ना गर्नका लागि नियमित कामबाट बचेको थोरै समयलाई समेत सदुपयोग गर्दै  साङ्गीतिक क्षेत्रमा योगदान गर्ने गरेका छन् । जसमध्येका एक हुन् यूरोपको नर्वेमा रहेर लोक संस्कृतिको जगेर्नाको निमित्त लागि परेका गायक तथा सर्जक गङ्गा प्रसाद घिमिरे ।

SUBSCRIBE 👉

मोरङ जिल्लाको पथरी शनिश्चरेमा जन्मिएका लोकगायक तथा सर्जक गङ्गा हाल अध्ययन र कामको सिलसिलामा नर्वेमा रहेका छन् । उनी पछिल्लो समयमा लोक साङ्गीतिक क्षेत्रमा एक सफल गायकको रुपमा आफूलाई परिचित गराउने क्रममा छन् । प्रवासका बिभिन्न कार्यक्रमहरुको व्यस्ततासँगै नेपाली साङ्गीतिक क्षेत्रमा पनि उनको त्यत्तिकै व्यस्तता हुन थालेको छ । बाल्यकालदेखि नै गायक बन्ने सपना बोकेका गङ्गा दर्शक – श्रोताहरुमाझ आफ्नो स्वर र शब्द मार्फत परिचित बनिसकेका छन् । गाउँघर, उकाली- ओराली, भञ्ज्याङ, चौतारी जता जाँदा होस्, उनी  सानैदेखि लोकगीत गुन्गुनाउने गर्दथे । परिवारमा बुबाआमा पनि लोक गीत गाउने हुनाले उहाँहरुको प्रेरणा र साथले गङ्गा लोक सङ्गीतप्रति झुकाव बढेको बताउँछन् ।

SUBSCRIBE 👉

स्कुले जीवनमा समेत थुप्रै कार्यक्रममा सहभागिता जनाई पटक पटक अग्रस्थान हासिल गरेर बिभिन्न पुरस्कार समेत प्राप्त गरेको उनी बताउँछन् । अनौपचारिक रुपमा साङ्गीतिक क्षेत्रमा सानैदेखि लागेको भएपनि उनको साङ्गीतिक शुभारम्भको औपचारिक यात्राको पहिलो गीत भने ‘पूर्बेली मायाले’ हो । जुन गीतलाई असंख्य श्रोता तथा दर्शकहरुले अत्याधिक मात्रामा मन पराएका थिए । फलस्वरूप उनमा निक्कै उर्जा थपियो र अहिले निरन्तर रुपमा यस क्षेत्रमा समर्पित रहेका छन् । गङ्गाले नर्वेमा आयोजना हुने बिभिन्न साङ्गीतिक कार्यक्रममा आफ्ना प्रस्तुतिहरु देखाइसकेका छन् । देश तथा बिदेशमा आयोजना हुने बिभिन्न अवार्ड कार्यक्रमहरुबाट समेत सम्मानित भईसकेका घिमिरे ‘पूर्बेली मायाले’ बोलको पछिल्लो गीतबाट ‘एपिक नेपाल म्युजिक अवार्ड’ मार्फत ‘सर्वोत्कृष्ट पूर्वेली गीत’ को शीर्षकबाट अवार्डेड समेत भईसकेका छन् । यस लगत्तै उनको “बिन्दास जिउने हो” बोलको अर्को गीत पनि बजारमा आइसकेको छ । अमेरिकाको न्युयोर्कमा सन् २०१९ मा सम्मन्न भएको ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड’ मा लोकदोहोरी विधा अन्तर्गत ‘बिन्दास जिउने हो’ बोलको गीत उकृष्ट १० को नोमिनेशनमा पर्न सफल भएको थियो ।

SUBSCRIBE 👉

औपचारिक रुपमा अंग्रेजी बिषयमा स्नातकोत्तर सम्मको अध्ययन पूरा गरेका घिमिरेले अहिलेसम्म ३ वटा गीत सार्वजनिक गरिसकेका छन् । लोकगीत मार्फत आफ्नै कला संस्कृति र मौलिकताको जगेर्ना गर्न रुचाउने उनको तेश्रो गीत ‘नाच मारुनी’ हो । यो गीत मौलिक संस्कृतिमा आधारित रहेको उनी बताउँछन् | उनका गीतले मनोरञ्जन दिने लगायत समाजमा रहेका विकृति, बसङ्गति र कुरुति हटाई जनचेतना जगाउन पनि ठूलै भूमिका निर्वाह गर्ने उनको ठम्याई छ । संख्यात्मक भन्दा पनि गुणस्तरीय गीत सङ्गीतमा विश्वास गर्ने घिमिरे भन्छन्  -‘कला र गला भए जुनसुकै परिस्थितिमा पनि आफ्नो साङ्गीतिक यात्रा अगाडि बढाउन सकिन्छ ।’ उनी थप्छन् –’ म आफू सकेसम्म लोक संस्कृतिको जगेर्ना गर्नको लागि समर्पित रहिरहने छु ।’ निकट भविष्यमा नै अर्को गीत लिएर दर्शक श्रोताहरु माझ आउने तयारीमा रहेको घिमिरे बताउँछन् ।

SUBSCRIBE 👉