कवि/गीतकार शुभ मुकारुङ नगद रू. १ लाख सहित पुरस्कृत

  • तुलसी गिरी ‘भावुक’

    गीतकार सङ्घ नेपालका उपाध्यक्ष, कवि तथा संस्कृति अन्वेषक शुभ मुकारुङ नगद रू. १ लाख राशी सहित पुरस्कृत भएका छन् ।  गत पुष १९ गते ‘नेपाली प्रतिभा प्रतिष्ठान, वेलायत’ले राजधानीमा एक कार्यक्रमको आयोजना गरी कवि तथा गीतकार मुकारुङलाई पुरस्कृत गरेको हो ।  नेपाली गीतिकाव्य तथा संस्कृतिका क्षेत्रमा खोज अन्वेषण गरी उल्लेखनीय योगदान पुर्याएवापत उनलाई सो प्रतिष्ठानले पुरस्कृत गरेको थाहा भएको छ । 

यसैगरी समारोहमा नगद रू. २५ हजार सहित वरिष्ठ कवि गोपाल पराजुली ‘प्रतिभा सम्मान’द्वारा सम्मानित भएका छन् । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले मुकारुङ र पराजुलीलाई टोपी, माला, नगद, दोसल्ला र सम्मानपत्र अर्पण गरी पुरस्कृत तथा सम्मानित गरेका थिए ।

समारोहमा प्रमुख अतिथि काइँलाले आफ्ना भनाईहरु राख्दै विदेशमा क्रियाशील सङ्घसंस्थाले नेपालमा रहेका स्रष्टा र नेपालमा क्रियाशील सङ्घसंस्थाले विदेशमा रहेका स्रष्टालाई सम्मान गर्ने परिपाटीले अन्तरदेशीय सम्बन्ध वृद्धि हुने विचार व्यक्त गरेका थिए भने कार्यक्रमका विशिष्ठ अतिथि प्रा.डा. गोविन्दराज भट्टराईले नेपाली साहित्यको श्रीबृद्धिमा डायास्पोरामा रहेका सङ्घसंस्था र स्रष्टाहरूको उल्लेखनीय योगदान रहेको बताएका थिए ।

प्रतिभा प्रतिष्ठानका नेपाल संयोजक तथा मानार्थ सदस्य प्राज्ञ शशी लुमुम्बूले संस्थाको गतिविधिबारे प्रकाश पार्दै सन् २००८ मा बेलायतमा स्थापना भएको यस प्रतिष्ठानबाट हालसम्म २४ जना स्रष्टा सम्मानित तथा पुरस्कृत भईसकेको जानकारी गराए । यसैगरी प्रतिष्ठानका महासचिव एवम् समारोहका सभापति मिजास तेम्बेले नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको विकासका लागि बेलायतमा स्थापित यो संस्था स्थापनाकालदेखि निरन्तर सक्रीय रहेको जानकारी गराएका थिए ।

SUBSCRIBE 👉
SUBSCRIBE 👉