प्रतिलिपि अधिकार सम्बन्धी अन्तरक्रिया सम्पन्न

नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयको आयोजनामा ‘Beijing Treaty on audio visual Performances, WCT, WPPT, Rome Convention र प्रतिलिपि अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ l संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह सचिव सुरेश आचार्यको प्रमुख आतिथ्य एवं नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार प्रकाश आचार्यको सभापतित्वमा गत मङ्सिर ११ गते बुधबार राजधानीमा सो कार्यक्रम सम्पन्न भएको हो l
कार्यक्रममा प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयका पूर्व रजिष्ट्रारद्वय विसु कुमार के. सी. र राजेन्द्र सिग्देलका साथै गीतकार सङ्घ नेपालका अध्यक्ष चूडामणि देवकोटा, सङ्गीत रोयल्टी सङ्कलन समाजका अध्यक्ष महेश खड्का, सङ्गीत तथा चलचित्र उत्पादक समाजका अध्यक्ष निर्मलराज ढकाल, प्रस्तोता समाज नेपालका पूर्व अध्यक्ष तुलसी पराजुली, नेपाल सङ्गीत उद्योग सङ्घका अध्यक्ष सूर्य बहादुर मगर लगायत मन्त्रालयका उच्च अधिकृतहरु, कानून व्यावसायी एवं गीत – सङ्गीत क्षेत्रका सङ्घ – संस्थाका प्रतिनिधि तथा सर्जक / कलाकारहरुको उपस्थिति रहेको थियो l
कार्यक्रममा पूर्व रजिष्ट्रार विसु कुमार के. सी.ले WCT र WPPT जस्ता दुई छुट्टाछुट्टै विषयमा एकीकृत कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने अर्का पूर्व रजिष्ट्रार राजेन्द्र सिग्देलले पनि Beijing Treaty र Rome Convention दुई छुट्टाछुट्टै विषयमा एकीकृत रुपमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो l यसैगरी वर्तमान रजिष्ट्रार प्रकाश आचार्यले पनि ‘प्रतिलिपि अधिकार संरक्षण तथा यसका विविध पक्षहरु’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो l

कार्यपत्रको प्रस्तुति पश्चात अधिवक्ता कृष्ण प्रसाद पनेरुले कार्यपत्रमाथि टिप्पणी गर्नुभएको थियो l फ्लोर ओपन भएपछि खगेन्द्र यक्शो, हुम गैरे, सुनिल लामिछाने, एनएसके लगायतले जिज्ञाशाहरु राखेका थिए भने पूर्व रजिष्ट्रार विसु कुमार के. सी. र वर्तमान रजिष्ट्रार प्रकाश आचार्यले जिज्ञाशुहरुको प्रश्नको उत्तर दिनुभएको थियो l