‘इन्टरनेशल ड्रेस टु इम्प्रेस–२’ नामक फेशन शो सम्पन्न, ‘त्रिदेवी फेशन हाउस’ का सञ्चालकहरु र्याम्पमा

 

  – तुलसी गिरी ‘भावुक’

‘ललितपुरको कुमारीपाटीमा हालै सञ्चालनमा आएको बुटिक ‘त्रिदेवी फेशन हाउस’ का सञ्चालकत्रय दिलमाया मगर, दिपा के. सी. र सङ्गी आचार्य आफैंले तयार गरेको नयाँ डिजाइनको फेशन लाएर र्याम्पमा उत्रिएका छन् । ‘इन्टरनेशल इन्टिच्युट अफ फेशन एन्ड टेक्नोलोजी’ मा अध्ययनरत बिद्यार्थीहरु बीचको प्रतिस्पर्धाका लागि आयोजित फेशन शो मा सिनियर स्टुडेन्टका तर्फबाट अप्रतियोगी डिजाइनरका रुपमा उनीहरु र्याम्पमा उत्रिएका हुन् ।  इन्टरनेशनल इष्न्टिच्युट अफ फेशन टेक्लोलोजी (आईआईएफटी) बाट एड्भान्स डिप्लोमा कोर्षको अध्ययन पूरा गरेका दिलमाया, दीपा र सङ्गीद्वारा सञ्चालनमा आएको ‘त्रिदेवी फेशन हाउस’ को केहीदिन अघि मात्र पूर्व मिस नेपाल सुगारिका केसी, र्यापर तथा गायक गिरिश खतिवडा र ब्युटिसियन निलम केसीले संयुक्त रुपमा उद्घाटन गरेका थिए । ‘हामी जुनियर स्टुडेन्टहरुको हौसलाको लागि मात्र र्याम्पमा उत्रिएका हौँ’ फेशन डिजाइनर तीन मध्येकी एक दिलमायाले भनिन् ।
‘त्रिदेवी फेशन हाउस’ मा बजारमा चलेका विविधखाले पहिरनका साथै विशेषगरी वेडिङ गाउनलाई प्राथमिकता दिईने र बजारको प्रतिस्पर्धामा सर्वशुलभ मूल्यमा स्तरीय पहिरन तयार गरिने कुरा डिजाईनरत्रय दिलमाया,  दिपा. र सङ्गीले जानकारी गराएका छन् ।
६४ फेशन डिजाइनरहरुबीच भएको ‘इन्टरनेशल ड्रेस टु इम्प्रेस–२’ नामक सो प्रतिस्पर्धामा महेश्वरीनाथ योगी प्रथम, श्रेया पुन मगर फस्ट रनरअप र उर्मिला तामाङ सेकेन्ड रनरअप भएका थिए । प्रथम, द्वित्तीय र तृतीयले क्रमश: नगद रु. १५, १० र ८ हजारसँगै ट्रफी र बिभिन्न उपहारहरु समेत प्राप्त गरेका थिए । सो प्रतियोगिताको निर्णायकमा अभिनेता प्रशान्त ताम्राकार, गायिक मिलन नेवार, गायिका – नायिका विष्णु चेम्जोङ, बुटिक एशोसियसनका संस्थापक अध्यक्ष उज्ज्वलकृष्ण श्रेष्ठ, फेशन डिजाईनरहरु निभा श्रेष्ठ, महेश महर्जन र इन्टरनेशल इन्टिच्युट अफ फेशन एन्ड टेक्नोलोजीका एकेडेमी निर्देशक राजु सुवाल रहेका थिए ।
आयोजक संस्थाका प्रबन्ध निर्देशक फुपु तेन्जिङ शेर्पाका अनुसार इन्टरनेशनल इन्टिच्युट अफ फेशन टेक्नोलोजीका विधार्थीहरुको डिजाइन प्रोत्साहनका लागि ‘ड्रेस टु इम्प्रेस’ नामक यस प्रकारको प्रतिस्पर्धा गत वर्षबाट आयोजना गरिँदै आएको हो । यो फेशन शोको कोरियोग्राफी बिपना थापाले गरेकी हुन् ।

SUBSCRIBE 👉
SUBSCRIBE 👉