‘राईजिङ स्टार सिजन ५’ को ग्राण्ड फिनाले सम्पन्न, प्रसुन बडालले जिते उपाधी

राईजिङ स्टार सिजन ५ को ग्राण्ड फिनाले सम्पन्न भएको छ । काठमाडौंको जोरपाटीस्थित टाइमलाइन स्कुलमा कक्षा ८ मा अध्ययनरत प्रसुन बडाल आफ्ना ८५ प्रतिस्पर्धीहरुलाई पछि पार्दै पाचौं राईजिङ स्टारको उपाधी बिजेता बन्न सफल भएका छन् ।  कार्यक्रम गत बैशाख ७ गते राष्ट्रिय नाचघरको मेघा हलमा  सम्पन्न भएको थियो । विजेताले नगद रु. ५१ हजार सहित ताज, अवार्ड र बिभिन्न आकर्षक गिफ्ट ह्याम्परहरु समेत प्राप्त गरेका छन् । उनलाई गत वर्षकी बिजेता अस्मिता खड्काले ताज लगाईदिएकी थिईन् ।

त्यस्तै एशियन पब्लिक स्कुल अनामनगर, कक्षा ८ मा अध्ययनरत दृष्टि श्रेष्ठले सिनियर तर्फबाट फर्ष्ट रनरअपको उपाधी हासिल गरिन् भने जुनियर तर्फबाट जेम्स स्कुल धापाखेल, कक्षा ५ मा अध्ययनरत पल्सा खड्का फर्ष्ट रनरअप बन्न सफल भईन् । टाइम लाइन स्कुल, जोरपाटी, कक्षा ६ मा अध्ययनरत आयुष्मा राई सिनियर तर्फबाट र  जुनियर तर्फबाट ईडन ब्रीज एकेडेमी धापासी, कक्षा ३ मा अध्ययनरत करुणा राई सेकेण्ड रनरअप हुन सफल भएका थिए । यसैगरी लोयल्टी एकेडेमी, कक्षा ३ मा अध्ययनरत सिम्रन पुन जुनियर तर्फबाट र पवन प्रकृति स्कुल, कक्षा ८ मा अध्ययनरत प्रेमा रोगु सिनियर तर्फबाट तेस्रो विजेता बन्न सफल भए । समारोहमा सिनियर र जुनियर दुबै समूहमा सातौँ विजेता सम्मलाई ट्रफि प्रदान गरिएको थियो ।

काठमाण्डौ उपत्यकाका विभिन्न विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्मका ८६ बालबालिकाहरु बीच सम्पन्न दुई चरणको अडिशनबाट छनोट भएकाहरु फाइनल प्रतिस्पर्धामा सहभागी भएको कुरा आयोजकले जानकारी गराएका छन् ।

कार्यक्रममा वरिष्ठ नृत्य निर्देशक तथा कोरियोग्राफर सुमन सागरजंग केसी, गायिका प्रविशा अधिकारी, चार्टर एकाउण्टेन दिलिप घिमिरे, मिस मंगोल २०१८ कि विजेता जाङ्मु शेर्पा, चलचित्र निर्माता तथा नायिका रोशनी केसी, राईजिङ स्टार २०१६ कि विजेता अनुस्का मानन्धर र राईजिङ स्टार २०१७ का विजेता असल अधिकारी निर्णायकमा रहेका थिए ।  समारोहमा लोकप्रिय पप गायक  धिरज राईले आफ्ना चर्चित गीतहरु गायका थिए भने राईजिङ स्टारका विजेताहरु स्मेरा सिंह, अनुष्का मानन्धर, असल अधिकारी र अस्मिता खड्काले समेत प्रस्तुति दिएका थिए ।

प्रथम राईजिङ स्टार विजेता स्मेरा सिंह, दोश्रो विजेता अनुष्का मानन्धर, तेस्रो विजेता असल अधिकारी र गत बर्षकी चौथो विजेता अस्मिता खड्काले पानसमा द्वीप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए भने कार्यक्रमका संयोजक तथा आयोजक संस्था क्रिएटिभ वर्ल्डका प्रवन्ध निर्देशक प्राज्ञ शान्तिराम राईले बालबालिकाहरुको आत्मविश्वास, व्यक्तित्व विकास, बौद्धिक विकास र कला प्रतिभाको विकासले भोलिको सवल राष्ट्र निर्माणमा सघाउ पुग्ने विश्वासका साथ यस किसिमको कार्यक्रमको आयोजना गरिएको बताए । कार्यक्रम सफलताका साथ सम्पन्न गर्न पाएकोमा साथ दिने सम्पूर्ण अभिभावक, स्पोन्सर्स, विद्यालयका प्रिन्सिपल, संचारजगत लगायत सबै सहयोगीहरुप्रति समेत उनले आभार व्यक्त गरे ।