सुविधा सम्पन्न ‘दुलही व्युटी एण्ड फेशन स्टुडियो’ को उद्घाटन

– गीता अधिकारी

काठमाडौंको हात्तीगौंडामा सुविधा सम्पन्न ‘दुलही व्युटी एण्ड फेशन स्टुडियो’ को ओपनिङ भएको छ । पिछडिएका महिला दिदी बहिनीहरुलाई सिप सिकाएर उद्यमशिलतातर्फ उन्मुख गराउने र राज्यलाई आर्थिक समृद्धिको लागि टेवा पुर्याउने लक्ष्यका साथ सञ्चालनमा आएको यस स्टुडियोको समुद्घाटन वरिष्ठ गायक आनन्द कार्कीले रिबन काटेर गरेका छन् । उद्घाटन कार्यक्रममा नायक नजिर हुसेन र नायिका शिल्पा मास्केले स्टुडियोको ओपनिङ ब्यानरको प्रदर्शन गरेका थिए भने बुढानिलकण्ठ नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष बस नारायण महर्जनले दीप प्रज्ज्वलन गरेका थिए ।

कार्यक्रममा वरिष्ठ गायक आनन्द कार्कीले आधुनिक प्रविधि सहितको सुविधा समावेश गरी संचालनमा ल्याईएको यो फेशन स्टुडियो महिलाहरुलाई उद्यमशील बनाउने गरी सञ्चालनमा आएकोले यसले छिट्टै सबैको मन जित्न सफल होस् भन्ने शुभकामना ब्यक्त गरे । फेसियल, हेयर कलर, महिला र पुरुषको कपाल काट्ने, दुलही सिंगार्ने, ब्युटिसियन कोर्सहरु सञ्चालनका साथै व्युटी पार्लरमा आवश्यक हुने सबै किसिमका सेवाहरु उपलब्ध हुने यस फेसन स्टुडियोमा गरिब, एकल महिला र आर्थिक अवस्था कमजोर भएका महिलाहरुले निःशुल्क रुपमा ब्युटिसियन तालिम लिएर स्वरोजगार बन्न सक्ने कुरा यस दुलही व्युटी एण्ड फेसन स्टुडियोकी प्रवन्ध निर्देशक गोपीमाया थुलुङले बताइन् ।