अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलामा ‘एभरेष्ट कल्चरल ग्रुप’ को गौरवमय प्रस्तुति

चन्द्र सूर्य अङ्कित नेपालको राष्ट्रिय झण्डाका साथमा दौरा सुरुवाल, ढाका टोपी साथै गुन्यु चोलीमा सजिएर कलाकार टोली जब स्टेज उक्लन्छन् तब दशौँ हजार दर्शकको तालीको गड्गडाहटबाट सम्मान पाउँदा नेपाली हुनुमा गौरवान्वित महसुस गर्दछन् । यो दृश्य हालै युनाईटेड अरब इमिरेट्सको सारजाह शहरमा सम्पन्न ‘अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला २०१९’ को हो । मेलाको आयोजना ‘सारजाह हेरिटेज इन्स्टिच्युट’ ले गरेको थियो ।

युनाईटेड अरब इमिरेट्सको पर्यटकीय शहर सारजाहमा गत अप्रिल १ देखि आयोजना भईरहेको ‘सत्रौं अन्तर्राष्ट्रिय लोक महोत्सव’ मा आफ्नो गौरवमय सहभागिता जनाएर ‘एभरेष्ट कल्चरल ग्रुप’ को  कलाकार टोली भरखरै स्वदेश फर्किएको छ l टोलीले महोत्सवको पहिलो सातामै आफ्नो प्रस्तुति दिएको थियो l मेला अप्रिल २२ सम्म चल्ने कुरा ग्रुपका प्रमुख रामचन्द्र कोईरालाले जानकारी गराएका छन् l

नेपाल सहित २५ राष्ट्रको समूहले भाग लिएको सो ‘अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला’ मा नेपालको तर्फबाट ‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले भाग लिएको हो l नेपाली कलाकार टोली, ग्रुपका प्रमुख रामचन्द्र कोईरालाको नेतृत्व तथा ग्रुपकी निर्देशक सीतल आचार्यको निर्देशनमा त्यसतर्फ गएको थियो । टोलीले नेपालको परम्परागत लोक संस्कृति झल्कने झ्याऊरे, तमाङ, झोडा, थाली, शेब्रु, कौरा, झाँगड, गर्रा, मारुनी,  धिमाल, यति, सोरठी लगायतका  नृत्यहरु प्रदर्शन गरेको कुरा समेत ग्रुपका प्रमुख कोईरालाले जानकारी गराएका छन् l प्रस्तुति गरिएका नृत्यहरुको निर्देशन वरिष्ठ नृत्य निर्देशक जोगेन्द्र के. सी. ले गरेको कुरा थाहा भएको छ ।

मेलामा ग्रुपका प्रमुख रामचन्द्र कोईराला र निर्देशक सीतल आचार्यका साथमा नृत्यतर्फ जोगेन्द्र के. सी., रुपिन डङ्गोल, कृष्ण रेउले, उत्तम शर्मा, विवेक खड्का, प्रमिल रिजाल, अनिता अधिकारी, विन्दु खड्का, सनि शाही, पुर्नी माया गुरुङ, सुजन बुढाथोकी,  वाद्यबादन तथा गायनतर्फ वरिष्ठ वाध्यबादक धनेश्वर तिवारी, वरिष्ठ लोक गायक राम प्रसाद पाण्डे, गायिका रिता बुढाथोकी भुजेल, तेज बहादुर गुरुङ (तेजेन्द्र) प्रदीप गुरुङ, अनिल सिंह थापाका साथै डेक प्रसाद अधिकारी (गोपल) सहभागी भएको थाहा भएको छ ।

सोही अवसरमा ‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’ की निर्देशक सीतल आचार्यले सारजाह सरकारका उच्च पदाधिकरीहरु साथै उपस्थित सम्पूर्ण महानुभाव तथा कार्यक्रम आयोजकहरुसँग भेटी साँस्कृतिक पर्यटन प्रवर्धनका लागि भविष्यमा सरकारी तथा गैरसरकारी निकायहरुको सहयोगमा नेपालमा यस प्रकारका विशेष कार्यक्रमको आयोजना गर्न सकिने विषयमा छलफल भएको कुरा बताएकी छिन् ।

एभरेष्ट कल्चरल ग्रुप निजी क्षेत्रबाट सञ्चालित नेपालकै त्यस्तो एक मात्र संस्था हो, जसले आफ्नै प्रयास र संयोजनमा लामो समय अघिदेखि साँस्कृतिक आदान-प्रदान अन्तर्गत नेपाली साँस्कृतिक गीत तथा नृत्यहरुको विश्वभर प्रचार-प्रसार गरिरहेको छ l नेपाली मौलिक कलाको विश्वव्यापी प्रचार-प्रसारमा यस संस्थाको योगदान अतुलनीय छ l तथापि सरकारी निकायबाट कत्तिपनि मूल्याङ्कन भएको छैन l