एनआरएनए स्कटल्याण्डको ‘हिल वाक’ भब्य रुपमा सम्पन्न

– प्रकाश अर्याल –

एनआरएनए  स्कटल्याण्ड राज्य समन्वय समितिले स्कटल्याण्डको  प्रख्यात डुमएट हिल, स्टरलिङमा आइतबार आयोजना गरेको  ‘हिल वाक इभेन्ट’ भब्य रुपमा सम्पन्न भएको छ । करिव सयजना भन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको नौलो तरिकाको ‘हिल वाक इभेन्ट’ ले एनआरएनएप्रति सचेतना जगाएको  एनआरएनए  स्कटल्याण्डका अध्यक्ष  मोहन कार्कीले बताएका छन् । 

‘एनआरएनए  स्कटल्याण्डको यो पहिलो पब्लिक कार्यक्रमले  सहभागीहरुमाझ एनआरएनएप्रति सकारात्मक भावना जगाएको र यसले एनआरएनएको सदस्यता र संगठन  बिस्तारमा समेत सहयोग पुगेको छ’ अध्यक्ष  कार्कीले बताए । ‘हिल वाक इभेन्ट’ बाट सहायता कोषको लागि सहयोग सङ्कलन भएको र  सहयोग सङ्कलन क्रम जारी नै रहेको  समेत अध्यक्ष  कार्कीले बताएका छन्  । उक्त कोषबाट  सङ्कलित सहयोग आपतकालीन र मानव कल्याणको क्षेत्रमा प्रयोग गरिने थाहा भएको छ ।

उक्त  हिल वाक सुरु हुनु भन्दा पहिले  एनआरएनए  स्कटल्याण्डका सचिव कृष्ण दाहालले  हिल वाकको विवरण, स्वास्थ्य र सुरक्षाबारे  जानकारी दिएका थिए । डुमएट हिलमा पाँच माइलको हिँडाईको लागि करिव  दुई  घण्टा लागेको थियो । उक्त कार्यकममा एनआरएनए युकेका उपाध्यक्ष ललित न्यौपाने सहित स्कटल्याण्डको बिभिन्न स्थानहरु  एडिनब्रा, ग्लासगो, एबर्डिन, फलक्रिक, फाइफ,  पर्थ ,डनफर्मलिन  र स्टरलिङबाट सहभागिता रहेको कार्यक्रम संयोजक राम बगालेले बताए ।

 

‘हिल वाक इभेन्ट’ मा ‘भिजिट नेपाल २०२०’ को प्रचार समेत गरिएको छ । उक्त इभेन्टमा अध्यक्ष कार्कीले  प्रायोजन गरेको ‘भिजिट नेपाल २०२०’ को प्रचार सामग्री ‘कार स्टिकर’ वितरण गरिएको थियो । एनआरएनए स्कटल्याण्डका अध्यक्ष कार्कीले स्कटल्याण्डका प्रत्येक एनआरएनएले आफ्ना साथीहरुलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गरे नेपालको पर्यटन ब्यवसायमा सहयोग पुग्ने बताएका थिए । एनआरएनए  स्कटल्याण्डले ‘भिजिट नेपाल २०२०’ को प्रचार को लागि नेपाली दुतावास र पर्यटन बोर्डसँग समन्वय गरिरहेको समेत कार्कीले जानकारी गराएका थिए ।