एकल शब्द, संगीत र स्वरमा रविन

वहुमुखी प्रतिभाका धनी रविन खत्री एकल शब्द, संगीत र स्वरको एल्बम love desire लिएर आएका छन् l भिन्न प्रकृतिको गला भएका रविनको गाउने शैली पनि आम शैली भन्दा भिन्न छ l उनी अब्बल कोटीका चित्रकार र मूर्तीकार पनि हुन् l राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गरी एल्बम सार्वजनिक गरेका रविनले गीति एल्बम सँगसँगै MODELING THE ECORCHE HUMAN FIGURE IN CLAY नामक पुस्तक पनि लोकार्पण गरेका थिए l
बाग्लुंग, गल्कोट स्थाई बसोबास भएका रविन पिता वीर बहादुर खत्री र माता नन्दकली खत्रीको परिवारमा दोस्रो सन्तानको रुपमा यो धर्तीमा आएका थिए l उनका १ दिदी र १ भाइ पनि छन् l ०६६ सालमा स्थानीय स्कूलबाट एसएलसी गरेपछि काठमाण्डौ आएर उनी ललितकलामा संगीत र मूर्तिकला लिएर पढ्न थाले l ललितकला पढ़दैगर्दा धोबीधारास्थित भ्वाइस इन्टरनेशनल नामक संगीत इन्स्टिच्युटमा कैलाश राईसँग पनि संगीत सिक्न थालेका रविनले त्यहाँ ४ वर्षजति सिके l ललितकलाबाट व्याचलर ईन आर्ट { BFA } गरेका रविनले यही अवधिमा अलाहावादबाट शाश्त्रीय संगीतमा प्रथम श्रेणीमा बी. म्यूज पनि गरे l मूर्तिकलामा माष्टर्स गर्नका लागि सन् २०१५ मा अमेरिकातिर लागेका रविनले त्यहाँ पनि आफ्नो कलाको प्रदर्शनी गरिसकेका छन् l
‘ललितकलाको पढाईबारे स्पष्ट पार्दै रविन भन्छन् – ‘मुर्ति र चित्रकारिताको पढाई सँगसँगै हुन्थ्यो l चित्रकारिता र संगीतमा मेरो सानैदेखिको रुची हो l स्कुले उमेरमै चित्र बनाउने र गीत गाउने गर्थें l मेरा मामाहरु इन्द्र बहादुर खत्री व्यावसायिक चित्रकार हुनुहुन्थ्यो भने ओम खत्री व्यावसायिक मूर्तिकार l मैले मामाहरुबाट पनि प्रेरणा पाएको हुँ र उहाँहरुकै सल्लाह अनुसार मूर्तिकला र चित्रकारिता पढेको हुँ l’
अमेरिका जानु अगाडि पर्याप्त स्टेजको अनुभव भएका रविनले त्योबेला किन गीत रेकर्ड गरेनन् त ? यस बारेमा उनी भन्छन् – ‘त्यो बेला ‘ब्याकअप ब्याण्ड’ सँग राम्रो सम्बन्ध थियो l म ब्याण्ड मेम्बर नभए पनि व्याण्डको कार्यक्रममा आधुनिक र पप गीत गाउने गर्थें l म संगीतलाई सम्मान गर्छु l त्यसैले त्यो बेला गीत रेकर्ड नै गर्ने आँट गर्न सकिन l अहिले केही सिकियो र गायनमा केही परिपक्वता पनि आयो अनि एल्बम निकाल्ने

हिम्मत गरेको हुँ l’
गीति एल्बम Love Desire मा ‘धेरै दिन भयो तिमीलाई नभेटेको, आज मेरो मनमा

आगो लाग्यो, तिम्रै मायामा डुब्न मन लाग्यो मलाई, एक्लै छु शहरको अन्जान यो भीडमा र आकाशमा उडेको चंगा जस्तै’ गरी ५ वटा गीत रहेका छन् l भिन्न प्रकृतिको गला भएका रविनका सङ्गीत मौलिक छन् भने शब्दहरु पनि सरल छन् l उनले प्रायजसो गीतमा मीठा आलापहरु लिएका छन् भने गायकीमा शास्त्रीय गलाको महक अनुभव गर्न सकिन्छ l उनका सबैजसो गीत आफ्नी प्रेमिकाकै वरिपरि घुमेका छन् l आफ्नी प्रिय टाढा भएको अवस्था अनि उनैको यादमा विचलित भावनाहरु गीतमा व्यक्त गरिएका छन्  l उनले भीडमा पनि आफूलाई एक्लो महसुस गरेका छन्, मनले हरपल कसैलाई खोजिरहेको छ, उनकै अंगालोमा बाँधिने चाहनाले मन छटपटाएको छ, उनी प्रतिको प्रेम र समर्पण भाव गीतका शब्द शब्दमा पोखिएको छ l
Love Desire एल्बम सुनिसकेपछि उनलाई संगीत क्षेत्रमा एउटा बलियो सम्भावना भएका प्रतिभाको रुपमा मूल्यांकन गर्न सकिन्छ भने मूर्तिकला र चित्रकारिताका अब्बल शिल्प भएका उनलाई ‘वहुमुखी प्रतिभा’ भनेर सम्वोधन गर्दा नै न्यायसंगत सम्वोधन हुन्छ l