पर्वको मर्म एकातिर तीजगीत अर्कैतिर

हिन्दू नारीहरुको महान पर्व तीज नजिकिंदै जाँदा सङ्गीत बजार पनि तीजमय भएको छ l यतिबेला विभिन्न संचार माध्यमहरुमा प्रकाशन हुने सङ्गीत सम्बन्धी समाचारमा तीजगीत बारेकै समाचारहरुले प्रमुख स्थान पाएका छन् भने युट्युबमा पनि तीज गीतका भिडियो नै बढी अपलोड भएका छन् l यकिन गरेर भन्न नसकिए पनि तीजका सबैजसो गीत भिडियोमा आउने भएकोले सङ्गीतमा हुने लगानीको हिसाबले पनि कूल लगानीको ठूलो हिस्सा तीजले ओगट्ने गरेको अनुमान गरिएको छ l तीज आउनुभन्दा महिनौ अघिदेखि रेकर्दिंग स्टुडियो, भिडियो निर्देशक, सङ्गीत संयोजक लगायत सङ्गीत क्षेत्रका मोडल, क्यामेरा मेन, सम्पादक, कलाकार तथा प्राविधिकहरुको व्यस्तता पनि उत्तिकै बढेको पाईन्छ l तीजगीत प्रकाशनलाई साँस्कृतिक र परम्पराको जगेर्ना भनिदै आएको भएपनि सर्जक-कलाकारहरुलाई यस्ता गीतले परम्पराको धज्जी उडाएको र संस्कृति नै ध्वस्त पारिरहेको आरोप पनि लाग्दै आएको छ l अस्वस्थ व्यावसायिक प्रतिस्पर्धाका कारण तीज आउनुभन्दा ३-४ महिना अगाडिदेखि नै तीजगीत बजारमा ल्याउने होडबाजी विगतका बर्षहरु झैं यसपटक पनि देखियो भने अन्य प्रकारका गीतलाई तीजगीतको नामबाट प्रकाशन गर्नेहरुले पनि यस्तो कृत्यलाई निरन्तरता दिएका छन् l
तीज हाम्रो साँस्कृतिक चाड हो, यो चेली र माईतीको पर्व हो l तीज गीतमा विरह, पीडा र वेदना मात्र हुनुपर्छ भन्ने हैन तर यो ‘भ्यालेनटाइन डे’ या ‘कुकुर बिरालो डे’ पनि पक्कै हैन l अश्लीलताको त कुरै गरिसाध्य छैन, हुँदा हुँदा तीजगीतबाट बालबालिकाहरुले कहिल्यै नसुनेका र नबोलेका गाली गलोजका भाषा पनि सिक्न थालेका छन् l यस्तै अवस्था रहे या यस्तै परम्परा हुर्कंदै गए भोलिका दिनमा तीजगीत कस्तो हुने हो ? परम्परा जोगाउने दायित्व कसको हो ? यो विषय सोचनीय छ l