तीज गीत कि साँस्कृतिक ताण्डव ?

यतिबेला सङ्गीत बजार तीजमय बनेको छ l शब्द जेसुकै होस् लोकदोहोरी शैलीका सबै गीत ‘तीज गीत’ को नाममा बजारमा आएका छन् l कमसेकम आधुनिक, पप, शास्त्रीय र गजल शैलीका गीतलाई भने ‘तीज गीत’ भनिएको यु-ट्युबमा भेटिएको छैन l सङ्गीतको धार विकाशको यो गतिलाई हेर्दा सम्भवतः १-२ वर्षभित्रै दर्शक-स्रोताको यो चाहना पनि पूरा हुनेछ l  ‘तीज गजल’, ‘तीज आधुनिक’, ‘तीज पप’ र ‘तीज शास्त्रीय’ गीतहरु पनि बजारमा आउने छन् l
तीज कस्तो अनि कसको पर्व हो ? तीजका मुख्य पात्र को हुन् र कस्ता भाव तीज गीतका विशेषता हुन् ? जस्ता कुरा विगतका वर्षहरुमा झैं यसपाली पनि सर्जकहरुले ख्याल नगरेको पाईयो l कतिपय तीज गीत ‘हट भिडियो तीज’, ‘न्यू कमेडी तीज’, ‘तीज आइटम संग्ग’ आदि नामबाट पनि सार्वजनिक भएका छन् l जसमा कि त तीजको ‘त’ नै छैन कि घरायसी झगडा, पति पत्नी बीचका असन्तुष्टि, शङ्का, गाली-गलोज, आरोप-प्रत्यारोप, धाक-धम्की र पति वा पत्नी हुनुको पीडा पोखिएको छ l अधिकांश गीतमा पति-पत्नीलाई एक-अर्काको बोझको रुपमा परिभाषित गरिएको मात्र छैन सामान्य आदरार्थी र प्रेमका शब्द कतै पनि सुन्न पाईन्न l गीतका पात्र एक अर्काको चियोचर्चा र बद्ख्वाई गर्नमै आनन्दित छन् l गीतमा बिबाहित पुरुषका ‘गर्ल फ्रेन्ड’ र महिलाका समेत ‘ब्वाई फ्रेन्ड’ छन् भने पतिहरु बेरोजगार, जंड्याहा, आवारा र निकम्मा छन् l बैदेशिक रोजगारमा जानेहरुको पत्नी पीडा समेत तीजगीत भएका छन् l तीज गीतका सर्जकले देखेका हुन् या परिकल्पना गरेका हुन् हाम्रो समाज र पारिवारिक वातावरण कुकुर र बिरालाहरूको झुण्ड झैं लाग्दछ l तीज गीतका भिडियो हेर्दा यस्तो लाग्छ मुलुकमा ‘साङ्गीतिक गाईजात्रा’ आएको छ l यो वर्षभरिको विष वमन गर्ने पर्व हो l चेली र माइतीका कुरा भएका गीत नगण्य मात्र छन् l यस्ता गीतलाई लोक संस्कृति भन्ने कि सामाजिक विकृतिका संवाहक ? यु-ट्युबमा समेत ‘तीज’ भनिएका त्यस्ता गीतका सर्जक-कलाकारलाई दर्शकले अत्यन्तै तुच्छ भाषामा गाली गरेको देख्न सकिन्छ l  यी गीत विदेशी भाषामा पनि अनुवाद हुने हो भने अमेरिका, चाइना, जापान र यूरोपतिरका मान्छेले हामीलाई के भन्दाहुन् ? कमेडीको नाममा नकारात्मक भाव र सन्देश भरिएका तीज गीतले यतिबेला युट्युबका मेमोरी भरिएका छन् l ‘कमेडी’ भनिएका कतिपय गीतमा ‘जोकर’ समेत राखिएको छ, जसको संवाद अत्यन्तै निम्नस्तरका र भद्दा लाग्दछन् l नवप्रवेशीहरुको त के कुरा, लोकदोहोरीका सङ्घ-संस्था हाँकेका र रास्ट्रिय-अन्तरराष्ट्रिय क्षेत्रमा समेत उच्च ख्याती भएका सर्जक-कलाकारका गीत समेत पर्वको मर्म बाहिर छन् l छोटो समयको पर्व तीजका लागि गीत प्रकाशन गर्ने होडबाजी यति उत्कर्षमा पुगिसक्यो कि तीज आउनुभन्दा लगभग चार महिना अघिदेखि नै गीत बजारमा आउन थालेका थिए l यो बीचमा तीजका भेषभूषा लगाईएका र नलगाईएका सबै लोकदोहोरी गीत ‘तीज गीत’ का नामबाट बजारमा आए l पर्व विशेषको महत्व नबोके पनि केही गीतले भने समाजको चित्र उतारेका छन् l गीत कथात्मक छन् र मनोरन्जक पनि l
व्यावसायिक प्रतिस्पर्धाको नाममा हाम्रो सङ्गीत क्षेत्र कता जाँदैछ र सङ्गीतले समाजलाई कस्तो सन्देश दिईरहेको छ ? सोच्ने बेला भईसकेको छ l मनोरन्जन एउटा पाटो हो, तर खासगरी पर्वजन्य कृति सिर्जना गर्दा संस्कृतिको सम्वर्धन र प्रवर्धन भयो कि ध्वंस भयो ? सर्जकहरुले यो कुरा पनि विचार गर्नु पर्दछ l हैन भने यस्ता गीतलाई ‘साँस्कृतिक ताण्डव’ किन नभन्ने ? यस्तै सत्तोसराप गरेका र पारिवारिक झगडाका गीतलाई नै लोकगीत भन्ने हो भने किन चाहियो लोकगीत ? नियमनकारी निकाय छैन भन्दैमा आफूलाई संस्कृतिको धरोहर ठान्ने वर्ग नै गैर जिम्मेवार बन्छ भने यो वर्गलाई के नाम दिने ?