अनुरागीको यु. के. यात्रा सम्पन्न

प्रसिद्ध सङ्गीतकार, म्युजिक एरेन्जर तथा गायक बी. बी. अनुरागी लगभग डेढ महिना लामो सांगीतिक यात्राबाट हालै स्वदेश फर्किएका छन् l सिर्जनशील नेपाली समाज यु. के. को निमन्त्रणामा गत बैशाख ५ गते त्यस्तर्फ प्रस्थान गरेका अनुरागी १ महिना १७ दिनको यु. के. बसाईपछि गत जेठ २१ गते स्वदेश फर्किएका हुन् l समाजले आफ्नो दशौँ बार्षिकोत्सव समारोहमा विशेष अतिथिका रुपमा सहभागिता जनाउनका लागि सम्मान सहितको कार्यक्रम राखेर अनुरागीलाई निम्ता पठाएको थियो l तर उता पुगेपछि सांगीतिक प्रस्तुति लगायतका कार्यक्रमहरुको ‘सेड्युल’ बनेकोले यात्रा अवधि लम्बिएको थाहा भएको छ l समाजले पूर्व निर्धारित कार्यक्रम अनुसार भव्य रुपमा आयोजना गरेको दशौँ वार्षिक समारोहमा बी. बी. अनुरागीलाई सम्मान गरेको थियो l
यु. के. मा रहँदा बी. बी. अनुरागीले ‘आस्फोर्ड’ र ‘मेडस्टोन’ नामका दुई छुट्टाछुट्टै शहरमा आयोजित सांगीतिक कार्यक्रमहरुमा सत्यकला राईसँगको सहकार्यमा केही युगल र केही एकल प्रस्तुतिहरु दिएका थिए भने सिर्जनशील नेपाली समाजले ‘बी. बी. अनुरागी ग्राण्ड म्युजिकल नाइट’ को समेत आयोजना गरेको थियो l यु. के. को अन्डरशटस्थित एम्पायर हलमा आयोजित सो ‘ग्राण्ड म्युजिकल नाइट’ मा अनुरागीले आफ्ना संगीतका लोकप्रिय गीत ‘गोर्खा पल्टन, बिछोडको करौंती, उडेर जून छुन्छु भन्थें, जहाँ तिमी त्यहाँ म’ लगायतका गीत प्रस्तुत गरेका थिए l ‘सबै दर्शक स्रोताको रुचीलाई ध्यानमा राख्दै लोकदोहोरी, पप, लोकपप, फिल्मी, आधुनिक, मगर भाषा, गुरुङ भाषा, पूर्वेली र पश्चिमी गरी धेरै प्रकारका प्रस्तुतिहरु दिएँ l समयको पावन्दी थियो, सबैको मन राख्न कति गीत आधा गाएँ त कति एकीकृत गरेर पनि गाएँ’ ‘ग्राण्ड म्युजिकल नाइट’ का बारेमा

अनुरागीले प्रकाश पारे l युगल गीतमा उनलाई सत्यकला राई र कल्पना शिरपालले साथ दिएका थिए भने उनीहरुको एकल प्रस्तुतिले पनि कार्यक्रममा थप रौनकता बढाएको थियो l लाइभ बाजा र म्युजिक ट्रयाक दुबैको प्रयोग भएको सो समारोमा बाँसुरीवादक पदम गुरुङ तथा अन्य वाद्यवादक शेखर र राम कुमारको साथ पनि प्रभावकारी रहेको थियो l स्थानीय सयपत्री कल्चरल ग्रुपको प्रस्तुति दर्शकले निक्कै रुचाएका थिए l
सम्मान ग्रहण गर्ने लक्ष्यका साथ पहिलोपटक यु. के. पुगेका अनुरागीले १ महिना १७ दिन पत्तै नपाई विताएका थिए l भ्रमण अचानक व्यावसायिकतातिर पनि मोडिएको थियो l फिल्मी, आधुनिक, लोकदोहोरी, लोकपप लगायत सबैजसो शैलीका लोकप्रिय सङ्गीतकार अनि म्युजिक एरेन्जमा नेपालमा ठूलो प्रसिद्धि कमाएका अनुरागीले त्यहाँ रहँदा ७ वटा गीतको एरेन्ज र ५ वटा सङ्गीत समेत गरेका थिए l
गणतन्त्र दिवसका अवसरमा स्थानीय मेयर लगायत अन्य विशिष्ठ अतिथिहरुको उपस्थितिमा नेपाली दुतावासले आयोजना गरेको कार्यक्रममा समेत सांगीतिक प्रस्तुति दिएका अनुरागीलाई सयपत्री कल्चरल ग्रुप, नेपाली प्रतिभा प्रतिष्ठान, विश्वकर्मा वेलफेयर सोसाईटी, बाग्लुंग समाज र एभरेष्ट टाइम्स डट नेटले समेत छुट्टाछुट्टै सम्मान गरेका थिए l यु. के. को सम्वृद्धि र अनुशाषित सिष्टमबाट आफू धेरै प्रभावित भएको बताउँदै प्रसिद्ध सङ्गीतकार/सङ्गीत संयोजक अनुरागी अगाडि भन्छन् – ‘म यु. के. मा रहनुहुने अनगिन्ती नेपाली दाजुभाइ-दिदी बहिनी र संघ-संस्थाहरुप्रति आभारी छु l यति धेरै माया र सम्मान पाएँ, म कस कसको नाम लिउँ ? सम्भव नै छैन l यो यात्रा म जीवनभर कहिले पनि भुल्ने छैन l’