एघारौ मिस तामांगको आयोजना हुँदै

नेपाल तामांग कला संस्कृति केन्द्र र एभरेष्ट फेसन होमको संयुक्त आयोजनामा ‘मिस तामांग २०१८’ को आयोजना हुन लागेको कुरा आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएका छन् l सन् २००६ बाट आरम्भ भएको यो कार्यक्रम यसपटक एघारौं संस्करणको रुपमा आयोजना हुन लागेको थाहा भएको छ l नयाँ पुस्तामा मौलिक साँस्कृतिक ज्ञान हस्तान्तरण गर्ने प्लेटफर्मको रुपमा व्याख्या गरिएको यो कार्यक्रम आउँदो ल्होछारको प्रमुख दिनमा सम्पन्न गरिने आयोजकले जानकारी गराएका छन् l प्रतियोगिताका प्रतिस्पर्धीहरुलाई एक महिना क्रिएटिभ क्लोज क्याम्प, मौलिक भाषा, साहित्य र संस्कृति सम्बन्धी विशेष कार्यशालामा सहभागी गराईनुका साथै साँस्कृतिक एवं सम्पदा क्षेत्रको भ्रमण, ट्यालेन्ट शो लगायतका गतिविधिहरुमा सक्रिय गराईने कुरा तामांग कला-संस्कृति केन्द्रका अध्यक्ष मिलन मोक्तानले बताएका छन् l नयाँ पुस्तालाई पुरानो ढंगले अघि बढाउन खोज्नु हुँदैन भन्दै समय सापेक्ष उनीहरुको रुची अनुसारका  सिर्जनशील बाटोबाटै मौलिकताको प्रवर्धन गर्नुपर्ने कुरा समेत मोक्तानले पत्रकार सम्मेलनमा राखेका थिए l

कार्यक्रममा २०१६ कि विजेता उर्मिला योन्जन र २०१७ कि विजेता पिंकी घिसिंगले पनि आयोजनाबारे आ-आफ्ना धारणा  राखेका थिए l ‘मिस तामांग’को पहिलो ताज जेनिशा मोक्तानले पहिरिएकी थिईन् l जसले ‘मिस नेपाल’ को समेत उपाधि जितेकी छिन् l जेनिशापछि ‘मिस तामांग’ को उपाधि उपाली ग्यावट, समी बज्यु, रोजिना घिसिंग, सुमी मोक्तान, लाक्पा तामांग, मुनाश्री तामांग, लक्ष्मी मोक्तान, उर्मिला योन्जन र पिंकी घिसिंगले जितेका थिए l