सङ्गीतकार मास्केका २ एल्बम एकैसाथ बजारमा

सङ्गीतकार सुनिल मास्केको एकल सङ्गीतका दुई गीति एल्बम ‘नूतन कृति’ र ‘शब्द सलोनी’ गत असोज ८ गते एकैसाथ सार्वजनिक भएका छन् l वरिष्ठ गीतकार यादव खरेलको प्रमुख आतिथ्यमा नयाँ बानेश्वरस्थित इन्द्रेणी फूडल्याण्डमा आयोजित एउतै समारोहमा यी दुई कृतिको एकैसाथ लोकार्पण गरिएको हो l समारोहमा गीत-सङ्गीत क्षेत्रका विशिष्ठ सर्जकहरु दीपक जंगम, एस. पी. कोईराला, दिनेश अधिकारी, दिप श्रेष्ठ, चूडामणि देवकोटा, योगेन्द्रमणि दाहाल, राजुबाबु श्रेष्ठ आदि लगायत सङ्गीत कर्मसँग सम्बन्धित अन्य व्यक्तिहरुका साथै संचारकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको थियो भने दुबै एल्बमबाट एक एकवटा गीतको म्युजिक भिडियो पनि प्रदर्शन गरियो l दुबै भिडियो युवराज वाइबाको निर्देशनमा तयार भएका हुन् l दुबै एल्बम भाइब्स क्रिएशनले बजारमा ल्याएको हो l
लोकार्पण कार्यक्रममा उपस्थित भएका अतिथिहरुलाई स्वागत गर्दै गीतकार राजुबाबु श्रेष्ठले दुबै एल्बमका बारेमा आफ्ना धारणा राख्दै भने-‘ नूतन कृति उज्यालै उज्यालो भएको एल्बम हो l यसमा पिरती-प्रणयका कुरा छन् l साथ सहयोगका भाव र विषयहरु छन् l शब्द सलोनी चाहिं अलि फरक स्वादको छ l सबै गीतले फरक फरक सन्दर्भका कुरा गरेका छन् l’ गीतकार राजुबाबुले भने झैं ‘नूतन कृति’ का ५ गीत मध्ये ‘डालीबाट फूलको थुङ्गा भुई झरेपछि’ वियोगान्त भावमा छ भने ‘सुटुक्क मनमा बस्ने मान्छे, कैदी बनाऊ मलाई तिम्रो मुटुको जेलमा, तिमी आउने खुशीमा म मात्तिएँ भने र मेरै सामु खुल्छौ भने’ बोलका अन्य ४ गीत प्रणय र प्रेम समर्पण भावमा रहेका छन् l वियोगान्त गीतले कसैसंगको साथ टुटेपछि एक्लो महसुस भएको पीडादायी भाव ब्यक्त गर्दै बाँच्नै कठिन भएका अवस्थाहरुको बयान गरेको छ भने अन्य गीतमा मिलनका सुखानुभूति र कसैप्रतिका कौतुहलतापूर्ण आकर्षण भावहरु छरिएका छन् l गीतमा कतै कसैको मुटुमा कैदी हुने अनि प्रेमको नेलमा सधैंको लागि बाँधिने चाहनाहरु छन् त कतै आफ्नो प्रिय मान्छेको आगमनले जीवनमा एकाएक कसरी खुशीको वहार आउँछ भन्ने यथार्थ भावहरु छन् l लामो वियोगपछि हुन लागेको मिलनमा सिमाहीन खुशीको कल्पना गरिएको छ l गीतमा आफ्नो प्रिय मान्छेलाई खुशीले मैले होशै हराएँ भने मलाई सम्हालिदिनु है ! भनिएको छ l एल्बमको अन्तिम हरफमा रहेको अर्को एउटा प्रेमपरक गीतमा गीतकार नूतनले प्रेम, जिज्ञाशा र कौतुहलताको सुन्दर सम्मिश्रण गरेकी छिन् l गीतमा प्रेम छ, जिज्ञाशा छ, अनि कौतुहलताहरु छन् l गीतले भन्छ-‘साँच्चै म प्रति समर्पित छौ भने, मलाई निस्वार्थ प्रेम गर्छौ भने म तिम्रो हुन तयार छु l एल्बममा बानिका प्रधान, विश्व नेपाली, मेलिना राई र प्राश्ना शाक्यले स्वर दिएका छन् भने ‘कैदी बनाऊ’ बोलको एउटा गीत महिला र पुरुष स्वरमा अलग अलग प्रस्तुत गरिएको छ l ‘इजरायलमा बसेर पनि नेपाली सङ्गीतको विकाशमा निरन्तर क्रियाशील रहेकी गीतकार नूतन भुसालका रचनात्मक शिल्प हरेक एल्बमको प्रकाशनसँगै अझ परिष्कृत हुँदै गएको महसुस गर्न सकिन्छ l
समारोहमा विमोचित अर्को एल्बम ‘शब्द सलोनी’ मा ‘चौतारीमा वर ढलेछ पिपलुलाई कसको भर, मैले एउटी केटी देखें, झम् झम् लाग्यो हेर न मलाई, दुई दिनको जिन्दगीमा एकैछिनको खुशी छ, तिम्रो सम्झनामा पत्र लेख्दै छु, भेट भाको चाबेल चोक गणेश थान र एकान्तमा भेट्न मन लाग्छ’ बोलका सातवटा गीत रहेका छन् l जसमा अन्जु पन्त, प्रमोद खरेल, युवराज चौंलागाई, अजर जंगम, बानिका प्रधान, त्रिलोक राना र किशोर शिवाकोटीको स्वर सुन्न सकिन्छ l एल्बममा विविध भावका गीत समेटिएका छन् l गीतले कतै चाबेल चोक गणेशथानमा त कतै असन बजारमा भेटिएकी अपरिचित युवतीप्रतिको आकर्षणले विचलित भएको भावहरु पोखेका छन् l अनायासै कतै भेटिने अपरिचित युवतीलाई देखेर मनमा एकाएक अंकुरित हुने स्वाभाविक प्रेमभावलाई गीतले यथार्थपरक ढङ्गमा चित्रण गरेको छ l मन परेकी, एकतर्फी माया गरिएकी युवतीलाई भेट्न, ऊ संग मनका कुरा साट्न भएका छटपटी अनि त्यही खुल्दुलीले असन्तुलित भएको मनोदशा र पीडा पनि गीतमा छन् l गीतकार सरोज साहीले आफ्ना अधिकांश गीतमा वियोग र एकतर्फी प्रेमबाट उत्पन्न वेचैनीलाई उजागर पार्ने प्रयास गरेका छन् l कुनै गीतमा वियोगले उनी यति जलेका छन् अधुरो प्रेम कहानी रगतले लेख्दैछन् l एल्बमको १ नम्बरमा रहेको गीत ‘चौतारीमा वर् ढलेछ’ मा परदेशिएको प्रियको यादमा भएका छटपटीहरु छन् भने चौथो काममा रहेको गीत ‘झम् झम् लाग्यो’ मा केही रोमान्टिक भावहरु छन् l

सिर्जनशील एवं क्रियाशील सङ्गीतकारहरुको अग्र पंक्तिमा रहेका सङ्गीतकार सुनिल मास्केले एकैपटक दुई एल्बम सङ्गीत भण्डारलाई दिएर भण्डारको सम्वृद्धि मात्र बढाएका छैनन् आफ्नो यात्रालाई सार्थक, गुणात्मक र अनुकरणीय समेत बनाउँदै लागेका छन् l सङ्गीत क्षेत्रमा वैचारिक एवं ब्यवहारिक रुपमा समेत सबैका प्रिय मास्के सहकर्मी र सहधर्मीहरुको भलाईका लागि पनि त्यत्तिकै सक्रिय रहँदै आएका छन् l विमोचन समारोहमा उनले सङ्गीत क्षेत्रबाट आफूले पाएको पारिश्रमिक सामाजिक कार्यमा लगाउने समेत घोषणा गरेका थिए l