निरन्तरताको अर्को पाइला आलाप-३

म १५ वर्षजति काठमाडौँमा डेरा बसेको थिएँ l मैले यहाँ घर किनेको ५ बर्ष भयो तर तला थपेको छैन l अमेरिकामा कमाएको पैसाले साङ्गीतिक तला मात्र थपिरहेको छु l’ लोकप्रिय गायक कन्हैया सिंह परियारले गत कत्तिक २३ गते आफ्नो एकल स्वरको सातौँ गीति एल्बम ‘आलाप-३’ को सार्वजनिक समारोहमा आफ्ना कुराहरु यसरी राखे l उनले अगाडि भने-‘श्रोताले गायकको रुपमा माया गरिसकेपछि हाम्रो पनि कर्तव्य बन्छ, बेला बेलामा नयाँ गीत बजारमा ल्याउनुपर्दछ l विदेश गएका कलाकारहरुलाई कतिपयले ‘पलायन भयो’ भन्ने गरेको पनि सुनिन्छ l तर म यो भनाइसँग सहमत छैन l किनकि पलायन हुन विदेश जानै पर्दैन l स्वदेशमै बसेका पनि धेरै कलाकार विभिन्न कारणले पलायन भएका छन् l तर विदेशमा बसे पनि आफ्नो साङ्गीतिक कर्मलाई निरन्तरता दिईरहेका कलाकारहरुलाई ‘पलायन भयो’ कसरी भन्ने ? अझ उनीहरुले त नेपाली सङ्गीतलाई विश्व बजारमा विस्तार समेत गरिरहेका छन् l’ कन्हैयाले गम्भीर र यथार्थ कुरा समारोहमा राखे l एल्बम वरिष्ठ सङ्गीतकार एवं सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकूलपति शम्भुजीत बासकोटाको प्रमुख आतिथ्यमा आयोजित समारोहमा सार्वजनिक गरिएको थियो l बागबजारस्थित सिटी म्याक्स सिनेमा हलमा आयोजित सो समारोहमा कार्यक्रमका प्रमुख अतिथि बासकोटाका साथमा पत्रकार एवं गीतकार शान्तिप्रिय,  ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ ज्योतिप्रकाश, गीतकार डी. आर., सङ्गीतकार सन्तोष श्रेष्ठ, टिकागोपाल डिजिटल एम क्रिएशनकी व्यवस्थापक गीता सिंह लगायतले सयपत्री फूलले छोपेर ‘ट्रे’ मा राखिएको एल्बमलाई अनावरण गर्दै एकसाथ लोकार्पण गरेका थिए l टीकागोपाल डिजिटल एम क्रिएशनको प्रस्तुतिमा सार्वजनिक भएको यस एल्बममा ‘वाह रे वाह, मरिलानु, धेरै माया, भन्दै होलान् र मुटुमा पीडा’ बोलका ५ वटा गीत समावेश गरिएको छ l जसमा डी. आर., सुमन वैरागी, विनोद रोक्का र गायक स्वयमका शब्दरचनामा सन्तोष श्रेष्ठको एकल सङ्गीत रहेको छ l म्युजिक खबर डट्कम अनलाइन पत्रिकाको आयोजनामा सम्पन्न भएको थियो सो लोकार्पण कार्यक्रम म्युजिक खबर डट्कम तथा म्युजिक खबर पाक्षिकका प्रधान सम्पादक सुमन वैरागीले संचालन गरेका थिए l लोकार्पण समारोहमा एल्बमका ५ मध्ये ३ गीतका भिडियो प्रदर्शन गर्ने योजना भएपनि प्राविधिक कारणवश २ वटा मात्र प्रदर्शन भएका थिए l दुबै भिडियोको निर्देशन विकाश घलेले गरेका हुन् lकेहीबर्ष अघिदेखि सपरिवार अमेरिका बस्दै आएका कन्हैया त्यहाँ पनि नेपाली सङ्गीतको विकाश र विस्तारका लागि सक्रिय रहँदै आएका छन् l युनाइटेड नेप्लिज आर्टिष्ट एशोसिएशन नर्थ अमेरिका [युनाना } र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज {इनास } मेरिल्याण्ड राज्य समिति दुबै संस्थाका अध्यक्ष समेत रहेका कन्हैया संस्थागत रुपमा समेत नेपाली कलाकार र कलाको लागि समर्पित छन् l लोकार्पण समारोहका प्रमुख अतिथि सम्भुजीत बासकोटाले कन्हैयाले अमेरिकामा नेपाली सङ्गीतको दूतको काम गरिरहेको बताउँदै सङ्गीतमा गरिने लगानी जोखिमयुक्त रहेको कुरा थाहा पाउँदा पाउँदै पनि यसरी निरन्तरता दिनु प्रशंसनीय भएको विचार ब्यक्त गरेका थिए l कन्हैयाकी धर्मपत्नी अन्जना गुरुङ पनि गायिका नै हुन् l चलचित्र होस् या आघुनिक तथा लोकगायन नेपाली सङ्गीत क्षेत्रमा उनको विशिष्ठ पहिचान रहेको छ l इनास अवार्ड र एनआरएनको चुनावलाई समेत लक्षित गरी केही हप्ता अघि स्वदेश आएका कन्हैया आफ्नो आलाप शृंखलाको अर्को एल्बम ‘आलाप-३’सार्वजनिक गरे लगत्तै कर्मभूमि अमेरिका फर्किसकेका छन् l यो एल्बमका गीतले पनि उनका पछिल्ला गीतको ख्यातिलाई अझ माथि पुर्याउने छन् भन्ने विश्वास गर्न सकिन्छ l